
काठमाडौं । संसदीय समितिले नेपालका सुनचाँदी व्यवसायीको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै समितिका सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी उद्योगी व्यवसायीको संरक्षण गर्ने गरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए । उद्योगी व्यवसायी बाँकी रहेमात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताए ।
"उद्योगी व्यवसायी बाँकी रहे ट्याक्स उठ्ने र नउठ्ने हुन्छ । उद्योगी नै बाँकी रहेनन् भने ट्याक्सको कुरा नै नगरे हुन्छ । यहाँका उद्योगी व्यवसायीको संरक्षण गर्ने र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउने," उनले भने ।
समितिमा सोमबार आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।
न्युज एजेन्सी नेपालबाट ।