
पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् । माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।
उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस र नेकपा (एमाले)को मात्र योजना छानिएको दाबी गरे ।
म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य जुग्जालीले दुई वर्षसम्म म्याग्दीलाई अन्याय भएको बताए । उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि आग्रह गरे ।
“भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीयज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस् भन्दै दुई वर्ष म्याग्दीलाई अन्याय भएको हुँदा, म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,” उनले भने ।