site stats
बाह्रखरी :: Baahrakhari
कला
किन पर्‍यो अनमोल केसीविरुद्ध अदालतमा मुद्दा ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा अभिनेता अनमोल केसीविरुद्ध मुद्दा परेको छ । नरेन्द्रबहादुर श्रेष्ठले अनमोलसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उनले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको दाबीसहित मुद्दा दायर गरेका हुन् । उनले आफूलाई उचित क्षतिपूर्ति दिन माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेठले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

के हो घटना ?
निर्माता रोहित अधिकारी आफूहरूले चलचित्र ‘फर्की फर्की’मा प्रयोग गरेको डाइलगमा भुलवश श्रेष्ठको नम्बर प्रयोग भएको बताउँछन् ।

“हामीले संवादसँग मिल्ने नम्बर हेरेर यो एउटा नम्बर प्रयोग गर्‍यौँ । त्यतिबेला यो नम्बर छ कि भनेर फोन गर्दा लागेन । त्यसपछि त्यही नम्बर प्रयोग गर्‍यौँ,” रोहित भन्छन्, “तर, फिल्म रिलिज हुँदा यो नम्बरमा अनमोलको नम्बर भनेर धेरैले रातिसमेत फोन गर्न थालेछन् । तर, त्यतिबेला यो नम्बर खुलेछ । त्यसैले उहाँले हामीलाई यसबारे गुनासो गर्नुभयो ।” 

रोहित आफूले श्रेष्ठसँग फोनबाटै माफी मागेको र निर्देशक गुरुङले घरमै गएर माफी मागेको बताउँछन् । “हामीले माफीमात्रै मागेनौँ, त्यो नम्बर डाइलगबाट नै हटायौँ । तत्काललाई समस्याको समाधान भएको थियो,” उनले भने ।

तर, एकहप्ता अगाडि चलचित्र विकास बोर्डबाट यही समस्यासहितको पत्र आएपछि आफू झस्किएको रोहित बताउँछन् । ओटीटी प्ल्याटफर्म एमएसएम भिडियोमा ‘फर्की फर्की’ रिलिज भएपछि पुनः त्यही समस्या दोहोरिएको उनको भनाइ छ ।

“हलमा उक्त नम्बर परिवर्तन गरेर तयार पारिएको फाइल चलाइयो । तर, एमएसएममा नम्बर परिवर्तन नगरिएको फाइल जाँदा फेरि अनमोलको नम्बर भनेर फोन आउन थालेछ,” रोहित भन्छन्, “तर, थाहा पाउनबित्तकै फेरि त्यो समस्याको समाधान भइसकेको छ ।”

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्