
काठमाडौं । एक खेलमा तीन सुपर ओभर, पाँच खेलको नतिजा अन्तिम ओभरबाट र समर्थक मैदानमा पस्दा देखिएको असामान्य स्थिति ।नेपाल र नेदरल्यान्ड्सले स्कटल्यान्डमा खेलेको त्रिदेशीय ट्वान्टी–२० शृंखला रोमाञ्चक बन्यो । र, ऐतिहासिक खेल पनि ।
यस शृंखलामा न आईपीएलको रौनकता थियो न त त्यस्तो चमक नै । यी तीनै टोली टेस्ट हैसियतका पनि थिएनन् । तर, आर्थिक अभावमा जुधिरहे पनि शृंखलामा यी तीन टिमले हालसम्म एसोसियट राष्ट्रहरूले प्रर्दशन गरेको सर्वोत्कृष्ट खेल पस्किए ।
नेपाली टोलीले ल्याएको उल्लास
शृंखला हेर्न योग्य हुनुको एक प्रमुख कारण हो, नेपालीहरूको सहभागिता । शृंखलाअन्तर्गत नेदरल्यान्ड्ससँगको ऐतिहासिक तीन सुपर ओभरपछिको हारपछि स्कटल्यान्डका स्पिनर मार्क वाटले सामाजिक सञ्जालमा लेखेका थिए, “नेपालले क्रिकेटमा कहिल्यै सामान्य खेल खेलेको छ ?”
नेपाली टोलीले स्कटल्यान्डमा तीन हप्ता बिताउँदा ‘कार्डियाक किड’ को उपनाम पायो । टोलीले आयोजक स्कटल्यान्डमाथि एक विकेटको नाटकीय जित निकाल्यो । उसले यसपछिका खेलमा पनि उस्तै जोसका साथ विदेशी भूमिमा खेलेको आठमध्ये पाँच खेलमा जित निकाल्यो ।
नेपाली समर्थकहरू टोलीको समर्थनमा डुन्डी र ग्लासग्लो दुवै ठाउँमा उस्तै गरी सरिक रहे । अझ, लाखौँको संख्यामा घरबाट पनि नेपाली टिमलाई समर्थकले पछ्याइरहेका थिए ।
स्कटल्यान्डविरुद्ध पहिलो खेलमा एक विकेटको जित निकाल्दा समर्थकले मैदानमै प्रवेश गरेर मनाएको खुसीयालीले नेपाली क्रिकेटप्रतिको मोह दर्शाउँछ । यसले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य बन्ने नेपालको सपनालाई पनि स्पष्ट रूपमा प्रस्फुटन गरेको छ ।
“मलाई लाग्छ नेपाली टोलीले विगत १० वर्षदेखि एसोसियट क्रिकेटमा प्रदर्शन गर्दै आएको स्तर यही हो । हामी पछाडि परेको अवस्थालाई उल्ट्याउँदै कसरी नतिजा आफ्नो पक्षमा ल्याउन सक्छौँ भनेर कसैलाइै थाहा दिँदैनौँ । त्यसैले हामीले ‘कार्डियाक किड’ उपनाम पाएको हो जस्तो लाग्छ । हामी जित्ने झिनो आशा भए पनि अन्तिम समयसम्म जितको निम्ति लड्छौँ,” टोलीका कप्तान रोहित पौडेलले भने ।
भविष्य कस्तो छ ?
क्रिकेटमा पछिल्लो समय फ्रेन्चाइज क्रिकेट हाबी हुँदै गएको वास्तविकता प्रस्टै छ । जसले ठूला राष्ट्रको क्रिकेट चर्चालाई विश्वस्तरमा उजागर गरे पनि साना तथा नयाँ टिमका अब्बल उत्पादनलाई नजरअन्दाज गरेको छ । फ्रेन्चाइज क्रिकेटको प्रभाव यतिसम्म हुँदा टेस्ट क्रिकेटलाई समेत यसले सिधा प्रभावित बनाएको छ । यही कारण टेस्ट क्रिकेटमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रको खेलमा समेत टोलीका महत्त्वपूर्ण खेलाडीहरू अनुपस्थित हुने गरेका छन् ।
विश्व क्रिकेटमा हाल भारत, इंग्ल्यान्ड र अस्ट्रेलियाको मात्रै प्रभावशाली उपस्थिति छ । आईसीसीको रणनीति ‘धेरै राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने’ भए पनि यी तीन टोलीबाहेक अन्यले निकै कम अवसर र प्रदर्शनका निम्ति मञ्च पाउँछन् ।
स्कटल्यान्डमा क्रिकेटको नियामक निकाय क्रिकेट स्कटल्यान्डले हरेक वर्ष पुरुष र महिला दुवैतर्फ कार्यक्रमहरू सञ्चालन गर्न आईसीसीबाट लगभग १३ लाख पाउन्ड पाउँछ । यो टेस्ट राष्ट्रहरूले पाउने रकमको १० प्रतिशत मात्रै हुन जान्छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसिय क्रिकेट प्रतियोगिता निकै तल रहेको प्रतियोगिता हो । तर, नेपाल र स्कटल्यान्ड र डचजस्तो टोलीका निम्ति भने यो ठूलो प्रतियोगिता हो । यो एसोसियट राष्ट्रका निम्ति विश्वकपसम्म पुग्ने अवसर हो, जहाँ उनीहरू आफूभन्दा अब्बल टोलीविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने सपना बुनिरहेका छन् ।
श्रृंखलाअन्तर्गत स्कटल्यान्डसँगको खेलमा घरेलु टोलीले प्रस्तुत गरेको ३६९ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सका म्याक्स ओ‘डोडको १५८ रन सहयोगमा भेट्टाएको थियो । एसोसियट क्रिकेटमा हालसम्म प्रहार भएको सर्वाधिक रन हो यो । जितसँगै टोलीले सुरुआती चार खेलदेखिको पराजयको डेडलक तोडेको थियो ।
यस्तो अप्रत्यासित नतिजा निकाले पनि डच टोलीले सन् २०२५ मा आगामी एकदिवसीय क्रिकेट खेल्ने तालिका छैन । यी राष्ट्रलाई अझ धेरै खेल तालिकाको आवश्यकता छ, जसले पक्कै पनि आर्थिक भार पनि थप्ने निश्चित छ ।
आईसीसी, सरकार वा व्यावसायिक प्रायोजक जोबाट भए पनि यी राष्ट्रहरूले बलियो आधारका निम्ति आर्थिक सहायताको अपिल गरिरहेका छन् ।
स्कटल्यान्ड र नेदरल्यान्ड आगामी जुलाईमा टी–२० क्रिकेट विश्वकप छनोट खेल्दै छन् । जसले भारत र श्रीलंकामा हुने विश्वकप जस्तो ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर जुराउने छ । विश्वकपजस्तो प्रतियोगितामा पुग्नुले पक्कै पनि यी साना राष्ट्रहरूलाई आगामी दिनमा पक्कै पनि थप अवसर दिनेछ ।