
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानले ‘स्ट्रेट अफ होर्मुज’ (समुन्द्री मार्ग) बन्द गरे नेपाल प्रभावित हुने बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले ‘स्ट्रेट अफ होर्मुज’प्रति नेपालको चासो रहेको बताइन् ।
“इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्यो भने त्यहाँबाट ८० प्रतिशत तेलको निर्यात हुने रहेछ र हामीले मित्रराष्ट्र भारतबाट प्रशोधित तेल लिने भएर त्यसले हामीलाई प्रभाव पार्न सक्छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
भारतले इरानबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्छ । स्ट्रेट अफ होर्मुज हुँदै तेल भारतसम्म आइपुग्छ । उक्त समुन्द्री बाटो बन्द गरिए घुमाउरोबाट तेल ल्याउँदा महँगो पर्ने उनले जनाइन् ।
“त्यो भयो भने तेलको भाउ बढ्यो भने हाम्रो हरेक कुरामा भाउ बढ्छ । तर, त्यो अहिले भइसक्यो भन्ने परिस्थिति होइन । शान्तिवार्ता होस् र यो नहोस् भन्ने हाम्रो अनुरोध छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
स्ट्रेट अफ होर्मुज बन्द हुँदा नेपालमात्र नभई चीन र भारत पनि प्रभावित हुने उनले बताइन् । इरानको चीन र भारत ठूलो मित्रराष्ट्र भएकोले स्ट्रेट अफ होर्मुज बन्द हुनेका उनले शंका व्यक्त गरिन् ।
“इरानकै ठूला मित्र चीन, भारत सबै प्रभावित हुन्छन्, तेल त्यहाँबाट रोकियो भने । पूरै घुमाएर ल्याउनुपर्छ । यो कुरामा सबैभन्दा ठूलो चिन्ता छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
उनले इजरायल र इरानको लडाइँले सबैलाई चिन्तित बनाएको पनि बताइन् । उनले दुई देशबीचको लडाइँ विस्तार भए नेपललाई पनि नकारात्मक असर गर्ने बताइन् ।
“युद्ध विस्तार भयो भने के होला भन्ने कुरा छ, त्यो नहुन पनि सक्छ । अमेरिकाले जुन फायर गर्यो, त्यो मिडिल इस्टमा भएको आफ्नो कुनै पनि बेसबाट फायर गरेन । त्यो बेस कतार, यूएई, साउदीमा छ । लडाइँ फैलिन्छ जस्तो लाग्दैन । भगवान्को प्रार्थाना गरौँ कि लडाइँ नफैलियोस् । त्यो भयो भने हामीलाई पनि एकदम नकारात्मक असर पर्न सक्छ,” उनले भनिन् ।