
काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । मध्यपूर्वमा जारी इजरायल–इरान युद्धका कारण अमेरिकी डलर बलियो बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार (असार १०)का निम्ति एक डलरबराबर १३९.११ रुपैयाँ बिक्रीदर तोकेको छ ।
गएको जेठसम्म प्रतिडलरको मूल्य १३६ रुपैयाँ आसपास थियो । मध्यपूर्वमा युद्ध सुरु भएसँगै डलर बलियो बन्दै गएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गएको माघमा प्रतिडलरको मूल्य बढेर १४१ रुपैयाँनजिक पुगेको थियो । त्यसपछि घटेर १३६ रुपैयाँ आसपास थियो ।
डलरको भाउ बढेपछि उदीयमान मुलुकमा चिन्ता थपिएको छ । हाल डलरसँग स्थानीय मुद्रा कमजोर भइरहेका छन् ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँमा असर पर्ने गरेको छ । मंगलबार एक डलरबराबर ८६.१४ भारु पुगेको छ ।
भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु मजबुत हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा असर पर्ने गरेको छ ।
भारतमा डलर सञ्चिति बढेर सात खर्ब डलर पुगेको छ । नेरु घट्दा निर्यातको अवस्था कमजोर भएकाले नेपालमा असर पर्दै आएको छ । यसबाट आयातित वस्तु थप महँगो हुने देखिन्छ भने कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ ।
डलर बलियो हुनुमा इरान र इजरायल युद्ध प्रमुख कारण रहेको अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । मध्यपूर्वको अशान्तिले अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको मूल्य बढेको उनको भनाइ छ ।
विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । हाल डलरका कारण विश्वबजारमा सुन र खाद्यान्नलगायत अरू दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । मंगलबार भने कच्चा तेलको भाउ घटेको छ ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यस बेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने गरेको छ । रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशत बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ । राष्ट्र बैंकका अनुसार, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड छ । नेपालसँग १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्ने सञ्चिति छ ।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन् ।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ । र, आयात गरिने वस्तु महँगो हुन जान्छ । विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ । भाउ पनि बढ्छ ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । आउँदो आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ ।
विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।