
काठमाडौं । इरानले कतारस्थित अमेरिकी एयर बेसमा आक्रमण गर्दा त्यहाँको ‘एयर स्पेस’ बन्द गरियो । त्योसँगै नेपालका तीन उडान प्रभावित भयो ।
उडान प्रभावित हुँदा विमान कम्पनीले व्यवस्थापन गरेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परे । केही यात्रुले विमानस्थलमा नाराबाजी र विरोध गरेका थिए ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, कतारमा अचानक एयर स्पेस बन्द गरिँदा यताका उडान रोकिएको थियो । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र कतार एयरवेजको फ्लाइट ‘क्यान्सिल’ गरिएको थियो ।
“कतार एयर हिजो (असार ९) साँझ यताबाट उडिसक्या थियो, अचानक एयर स्पेसबन्द हुँदा दोहामा ल्यान्ड हुन सकेन, मस्कटमा ल्यान्ड गर्यो । एयर स्पेस खुलेसँगै मस्कटबाट दोहा पठाइसक्या छ,” उनले बाह्रखरीसित भने ।
उनले अगाडि भने, “बाँकी हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको क्यान्सिल भयो । हिमालयले पछिचाहिँ होटेलमा लगेर राख्यो । नेपाल वायुसेवाको अहिले (असार १० मध्याह्न) १२ बजे उडाउने भएको छ ।”
मंगलबार बिहानका निम्ति तय कतार एयरको एउटा फ्लाइट पनि रद्द गरियो । यात्रुलाई पहिले नै जानकारी गराइसकेका कारण त्यसमा समस्या नरहेको प्रवक्ता भुलले बताए ।
उक्त आक्रमणका कारण कतारको एयर स्पेस बन्द हुँदा विश्वका हजारौँ फ्लाइट क्यान्सिल गरिएको थियो । त्यहाँको विमानस्थल सामान्य नभएसम्म यताबाट कतारले यात्रु नलैजाने भुलले बताए ।
“कतारले तत्काल उताबाट यात्रु लिएर आउँछ र यताबाट खाली जान्छ, किनकि दोहाको एयरपोर्ट अहिले एकदमै कन्जस्टेड छ । सबै ठाउँको प्यासेन्जर त्यतै रोकिएको छ,” उनले भने, “दोहाको एयरपोर्टमा ह्यान्डल गर्न नसक्ने अवस्था भएकोले उताबाट प्यासेन्जर यता ल्याउने कामचाहिँ गर्छ, यताबाट उनीहरूले प्यासेन्जरचाहिँ भोलिबाट मात्र लैजान्छ ।”