site stats
बाह्रखरी :: Baahrakhari
कला
अमरीश पुरी पर्दामा जस्तै खतरनाक थिए वास्तविक जीवनमा ? यी हुन् अनौठा बानी

काठमाडौं । सन् १९८७ मा जब शेखर कपूरको फिल्म ‘मिस्टर इन्डिया’ रिलिज भयो, त्यसका खलनायक अमरीश पुरीले नायकले भन्दा धेरै ध्यान खिचे ।

‘मोगाम्बो’लाई बलिउडको इतिहासमा एक कोसेढुंगा पात्र मानिन्छ । “मोगाम्बोले आफ्नो व्यक्तित्वमा सबै प्रकारका खलनायकहरूलाई चित्रण गरेका थिए । तर, उनी महिलाहरूविरुद्ध हुने हिंसालाई मन पराउँदैनथे । आफूतिर ध्यान आकर्षित गर्ने उनको तरिका बिल्कुलै फरक थियो,” बालाजी विट्टल आफ्नो पुस्तक ‘प्योर इभिल द ब्याडमेन अफ बलिउड’मा लेखेका छन्, “उनका गुन्डाहरूलाई हिटलरको शैलीमा ‘नरक मोगाम्बो’ भन्न लगाउनु र हरेक जघन्य अपराधपछि ‘मोगाम्बो खुस हुआ’ भन्नुले दर्शकको नजरमा उनको दुष्टता कम भयो । र, दर्शक उनको शैलीमा ताली बजाउन बाध्य भए ।”

पञ्जाबको नवाँसहरमा जन्मिएका अमरीश पुरीले सिमलाको बीएम कलेजबाट आफ्नो स्कुले शिक्षा हासिल गरे । ५० को दशकमा उनी मुम्बई सरे, त्यहाँ उनका दुई भाइ मदन र चमन पुरीले पहिले नै चलचित्रमा काम गरिरहेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभिनयमा ‘ब्रेक’
टोपी, चौडा काँध, अग्लो कद र प्रभावशाली आवाज अमरीशको ट्रेडमार्क थियो । अमरीशलाई भारतीय रंगमञ्चका प्रसिद्ध व्यक्तित्व अल्काजीले पहिलो ‘ब्रेक’ दिए ।

एक साथी एसपी मेघनानीले उनलाई अल्काजीसँग भेटाउन लगे । अमरीशले आफ्नो आत्मकथा ‘द एक्ट अफ लाइफ’मा लेखेका छन्, “पाँच मिनेटभित्रमा अल्काजीले मलाई एउटा स्क्रिप्ट दिएर अपार आत्मविश्वासले भरिदिए । लामो करिडोरको अर्को छेउमा रहेको उनको डेस्कतिर जाँदा मलाई थाहा थियो, उनी मलाई ध्यानपूर्वक हेरिरहेका थिए । उनले मलाई सोधे– तिमीलाई थिएटरमा रुचि छ ? मैले ‘हो’ भन्नासाथ उनी निहुरिए र स्क्रिप्ट निकाले । उनले मलाई आर्थर मिलरको नाटक ‘अ भ्यु फ्रम द ब्रिज’मा मुख्य भूमिकामा खेल्न भने ।”

ewfgm-1750758224.jpg
यही नै उनको अभिनय करियरको कोसेढुंगा भयो । त्यसपछि अमरीशले पछाडि फर्केर हेर्नु परेन । त्यसपछि उनले विजय तेन्दुलकरको नाटक ‘सखाराम बाइन्डर’बाट ठूलो प्रसिद्धि कमाए ।

यो नाटकमा एक अविवाहित किताब बनाउने व्यक्तिको कथा थियो, जसले एक घरबारविहीन महिलालाई घर ल्याउँछ । र, उनीसँग सम्बन्ध राख्छ ।

यो नाटकमा पुरीलाई फोहोर र अश्लील शब्दहरू प्रयोग गरेको देखाइएको थियो । यो नाटकको कडा विरोध भएको थियो । यसमा महिलाको शोषण गर्ने व्यक्तिको कार्य कसरी जायज हुनसक्छ भनिएको थियो ?

अमरीश पुरीले लेखेका छन्, “महाराष्ट्रजस्तो राज्यका मानिसले विरोध गरेकोमा मलाई यो अचम्म लाग्यो । जहाँ रंगमञ्चको समृद्ध परम्परा छ, त्यहाँ यो नाटकलाई अश्लील ठानियो । यो दुर्भाग्यपूर्ण थियो, किनभने हामी सबैलाई थाहा छ कि जीवनमा अनुभव जतिसुकै कुरूप र स्तब्ध पार्ने किन नहोस्, रंगमञ्चमा यसलाई कलाका तहहरूमार्फत प्रस्तुत गरिन्छ ।”

अमरीश पुरीका अर्का गाइड र थिएटर गुरु सत्यदेव दुबे थिए । उनले अमरीशले भनेको सम्झिए, “अमरीशका लागि काम र रंगमञ्च एकैसाथ गर्नु सजिलो थिएन । उनलाई आफ्नो समय कसरी व्यवस्थापन गर्ने भन्ने थाहा थियो । उनको पारिवारिक जिम्मेवारी थियो । उनको बढ्दो परिवारको लागि अतिरिक्त पैसा पनि कमाउनुपर्थ्यो । रंगमञ्चले उनलाई पटक्कै तलब दिँदैनथ्यो । अन्ततः उनले चलचित्रप्रतिको प्रतिबद्धताको कारण नाटकमा आफ्नो काम घटाए । तर, त्यतिन्जेलसम्म उनले हिन्दी रंगमञ्चमा अन्य कुनै पनि अभिनेताभन्दा बढी योगदान दिइसकेका थिए ।”

दुबेले पनि अमरीशको धेरै विनम्र हुनुको विशेष गुणका बारेमा आफ्नो विचार राखेका छन् । “अमरीशले मबाट जति गाली पाएका थिए, त्योस्तरको गाली अरू कुनै कलाकारले पाएनन् । तर, यसले उनलाई कहिल्यै निरुत्साहित गरेन । उनको आत्मसम्मानमा चोट पुर्‍याएन,” उनले भने, “मैले एउटा कार्यशालामा भनेको थिएँ– महिलामा उनीहरूको समर्पणका कारण सिक्ने क्षमता बढी हुन्छ । अमरीश रंगमञ्चमा मैले भेटेको सबैभन्दा राम्रो महिला हुन् ।”

चलचित्रमा ब्रेक 
श्याम बेनेगलले अमरीशलाई चलचित्रमा ब्रेक दिए । श्याम बेनेगलले अमरीशको नाटकीय प्रतिभालाई सम्मान गर्दै उनको सुरुआती चलचित्र मन्थन’, ‘निशान्त’ र ‘भूमिका’मा मौका दिए । परिणाम, श्याम बेनेगल र अमरीश समानान्तर सिनेमा जोडी बने । अमरीशले आफ्नो पहिलो चलचित्र ४० वर्ष पुग्न लाग्दा खेलेका थिए ।

श्याम बेनेगलले एक अन्तर्वार्तामा भनेका थिए, “म अमरीशका नाटकहरू हेर्थें । निशान्तलाई कास्ट गर्नुअघि म उनलाई साथीका रूपमा चिन्थेँ । निशान्तको लागि म एक धेरै प्रभावशाली व्यक्ति चाहन्थेँ । उनको व्यक्तित्वमा एक प्रभुत्व थियो, जुन पर्दामा बाहिर आयो । उनले आफ्नो काम यति राम्रोसँग गरे कि उनलाई पालिस गर्नु परेन ।”

asdg-1750758253.jpg
अमरीशले ‘मन्डी’मा फकिरको भूमिका निभाएका थिए । यसमा उनले उत्कृष्ट अभिनय गरेका थिए । “युवा कलाकारसँग उनको धेरै राम्रो सम्बन्ध थियो । सरदारी बेगममा एक युवा अभिनेत्री स्मृति मिश्रा धेरै नर्भस थिइन् र राम्रोसँग अभिनय गर्न सकिरहेकी थिइनन्,” उनले भनेका छन्, “म रिसले  चिच्याइरहेको थिएँ । तर, अमरीशले उनलाई धेरै प्रोत्साहन गरे । र, उनको आत्मविश्वास बढाए ।”

अमरीश आफैँले श्याम बेनेगलसँग काम गर्दा उनको सिने करिखर उकालो लागेको बताएका छन् । “श्याम देखाइँदै गरेको दृश्यको बारेमा धेरै स्पष्ट हुन्थे । र, आफ्ना योजनामा कुनै पनि हस्तक्षेप सहन सक्दैन थिए,” आत्मकथामा अमरीशले लेखेका छन्, “तर, यसको अर्थ यो होइन कि उनी सुझाव र सुधारलाई आत्मसात् गर्दैनन् थिए । उनका निर्देशनहरूमा कुनै पनि परिवर्तन गर्न मन लागे पहिले नै जानकारी गराउनुपर्छ ।”

अमरीश श्याम र गोविन्द निहलानी आफूबाट के चाहन्छन् भन्ने सधैँ प्रस्ट हुन्थे । “मलाई थाहा थियो कि उनीहरूले मलाई कसरी प्रस्तुत गर्नेछन् । उनीहरूले मलाई ठोस र अर्थपूर्ण भूमिका मात्र दिनेछन् । म अरू कसैसँग समानान्तर सिनेमा गर्न सक्दिनथेँ,” उनले लेखेका छन् ।

asfsg-1750758789.jpg
अमरीशले विजय तेन्दुलकरद्वारा लिखित धेरै नाटक र चलचित्रमा काम गरेका छन् । उनले थुप्र्रै पटक अमरीशको तारिफ गरेका छन् । “जब मैले पहिलोपटक अमरीशलाई स्टेजमा देखेँ, उनको काम गर्ने गतिले म आकर्षित भएँ । उनको आवाज पनि स्टेजको लागि एकदमै उपयुक्त थियो । उनले ‘सखाराम बाइन्डर’को अभिनयमा आफ्नो आत्मा लगाएका थिए,” अमरीशको प्रशंसा गर्दै उनले लेखेका छन्, “रंगमञ्चले उनलाई आकार दिएको थियो । उनको अभिनय यान्त्रिक थिएन । फिल्म ‘सुरजका सतवान घोडा’मा उनले यस्ता क्षणहरू सिर्जना गर्छन्, जसले तपाईंमा छाप छोड्छ ।” 

अमरीशले आफ्ना अर्का निर्देशक गिरिश कर्नाडलाई ‘दार्शनिक नाटककार’ उपनाम दिएका थिए । “जब अमरीश रिहर्सल गर्दैनथे, उनी समूहबाहिर घुम्थे । सत्यदेव दुबेले उनलाई तालिम दिन्थे, निर्देशन गर्थे र गाली गर्थे,” गिरिश कर्नाडले आफ्नो आत्मकथा ‘द लाइफ एट प्ले’ मा अमरीशसँगको पहिलो भेटको सम्झना गर्दै लेखेका छन्, “जब मैले फिल्म ‘काडू’ निर्देशनको काम पाएँ, मैले अमरीशलाई लिएँ । कन्नड भाषाको उनको कमी फिल्मको लागि ठूलो बाधा बन्यो । उनी केही संवादहरू सम्झन घण्टौँसम्म प्रयास गर्थे, तर क्यामेरा खुल्नेबित्तिकै निराशाले निधारमा हिर्काउने गर्थे ।”

त्यसपछि आफूले अमरीशका निम्ति संवाद घटाएको उनले बताएका छन् । उनले भने, “मैले सम्पूर्ण फिल्ममा उनका संवादहरू ६ लाइनमा घटाउनुपर्‍यो । फलस्वरूप, उनी चलचित्र एक मौन पात्र बने । तर, धेरै कम संवादहरू भए पनि उनले आफ्नो अभिनयले सम्पूर्ण आत्मालाई फिल्ममा राखे ।” ‘काडू’ बक्सअफिसमा हिट भयो ।

adfg-1750758287.jpg
‘तमस’को यादगार भूमिका
अमरीश पुरीमा क्षणलाई कैद गर्ने अद्भुत क्षमता थियो । उनका सहकर्मी र धेरै चलचित्रमा निर्देशक गोविन्द निहलानी सम्झन्छन्, “अमरीशले ‘तमस’मा अद्भुत काम गरेका छन् । यसमा उनले एक वृद्ध सिखको भूमिका निर्वाह गरेका छन्, जसमा लडाकु भावना छ ।”

यो चलचित्रको एउटा दृश्य, जसमा उनी आफ्नो नाती र बुहारीसँग बसेका छन् । उनका छोरा त्यहाँ छैनन् । “त्यो दृश्य अरू कुनै अभिनेताले गर्न सक्दैनथे । त्यो दृश्यमा उनले अर्दासका केही पंक्तिहरू पढ्नुपरेको थियो । उनले अर्दास कण्ठ गरे, तर सत्संगमा दिइने भाषण सम्झन सकेनन्,” उनले लेखेका छन्, “त्यसपछि हामीले एउटा बोर्ड राख्यौँ र त्यसमा त्यो अनुच्छेद लेख्यौँ । अमरीश त्यो अनुच्छेद उर्दुमा आफ्नै हस्तलेखनमा लेखेका थिए । हामीले बोर्ड फरक–फरक क्यामेराको स्थितिअनुसार राखेका थियौँ । अमरीशले त्यो सट एकैटेकमा दिए ।”

हिन्दी सिनेमामा ‘शो म्यान’ भनेर चिनिने सुभाष घईले उनलाई पहिलोपटक आफ्नो चलचित्र ‘क्रोधी’मा खलनायकको भूमिका दिएका थिए । “जब मैले ‘विधाता’ र ‘सौदागर’ फिल्म बनाएँ, मलाई दिलीप कुमारको अपोजिटमा एक शक्तिशाली अभिनेताको आवश्यकता थियो । मैले त्यो भूमिका अमरीशलाई दिएँ । उनले दुवै फिल्ममा आफ्नो उत्कृष्ट अभिनय दिए । म उनलाई एक अभिनेता मान्छु, जसले कहिल्यै आफ्नो निर्देशकलाई निराश पारेनन्,” सुभाष घई सम्झन्छन्, “जब उनी सेटमा थिए, सबै मित्रतालाई छोडेर उनले सधैँ निर्देशकलाई एक प्रशिक्षकका रूपमा हेरे । फिल्म ‘यादेँ’को छायांकनका क्रममा मैले उनलाई चिच्याएँ । तर, उनलाई यसमा नराम्रो लागेन । पछि मलाई नै लाज लागेपछि उनीसँग माफी मागेँ ।”

फिल्म ‘गान्धी’मा भूमिका
अमरीशले चलचित्र गान्धीमा पनि अभिनय गरेका थिए । उनलाई खानको भूमिका दिइएको थियो, जो एक धनी दक्षिण अफ्रिकी व्यापारी थिए । त्यो पात्रले गान्धीलाई भारतका निम्ति चाहेको विषय हासिल गर्न मद्दत गर्छ ।

सर रिचर्ड एटनबरोले अमरीशमा गहिरो छाप छोडे । “एटनबरोले गान्धीको पटकथामा १६ वर्षसम्म बिताए । ती वर्षहरूमा उनले पटकथाको हरेक शब्दलाई पूर्णता दिए । छायांकन सुरु हुनुभन्दा एक महिनाअघि सबैलाई पटकथाको बाउन्ड प्रतिलिपि प्रदान गरिएको थियो र सबै कलाकारहरूले सेटमा आउँदा आफ्ना संवादहरू कण्ठ गर्नुपर्ने अपेक्षा गरिएको थियो,” अमरीशले आफ्नो आत्मकथामा लेखेका छन्, “एटनबरो एकदमै धैर्यवान् निर्देशक हुन् । उनी क्यामेराको ठिक तल बसेर यति नरम बोल्थे कहिलेकाहीँ उनका शब्दहरू सुनिएनन्, उनले आफ्नो आवाज सानो गर्नुको कारण कलाकारहरूको एकाग्रतामा बाधा नपरोस् ।”

efg-1750758313.jpg
अन्तर्राष्ट्रियस्तरमा समेत प्रसिद्ध निर्देशक स्टिवन स्पिलबर्गले पनि उनलाई आफ्नो सिनेमा ‘इन्डियाना जोन्स’मा खलनायकको भूमिका दिएका थिए । अमरीशलाई सुरुमा ‘इन्डियाना जोन्स’को पटकथा मन परेन । उनले एटनबरोलाई फोन गरेर सल्लाह मागे ।

एटनबरोले उनलाई भने, “मूर्ख नबन ! म स्टिवनलाई अहिले संसारको सबैभन्दा महान् फिल्म निर्मातामध्ये एक मान्छु । यदि, स्टिवनले तपाईंलाई फोन गरेका छन् भने उनको मनमा तपाईंका निम्ति केही न केही त हुनुपर्छ । यो मान्छेले साधारण कथामा पनि जीवन ल्याउन सक्छ ।”

अमरीशले एटनबरोको कुरा स्वीकार गरे । पछि उनले आफ्नो आत्मकथामा लेखे, “स्टिवनले साधारण विषयलाई अद्भुत देखाउन सक्छन् । उनी यति कडा परिश्रमी छन् कि उनी एउटा चलचित्रको छायांकन गर्दा कम्तीमा दुई चलचित्रको स्क्रिप्टमा काम गर्छन् । र, दुई वर्षको अवधिमा पटकथामा व्यापक संशोधन नगरेसम्म छायांकन सुरु गर्दैनन् ।”

घडी र जुत्ता संकलक 
अमरीशले भारतमा तालुखुइलेपनलाई फेसन बनाए । सुरुमा उनको टाउकामा धेरै कपाल थियो । सिनेमा ‘दिल तुझको दिया’का निर्देशक राकेश कुमारले उनलाई ‘दादा’को भूमिकाका निम्ति कपाल खौरन राजी गराए । उनलाई चलचित्र डेढ महिनामा तयार हुन्छ भनिएको थियो । तर, चलचित्र बनाउन डेढ वर्ष लाग्यो ।

qfdmg-1750758431.jpg
उक्त समयमा अमरीशलाई तालु खुइलिएको टाउकोमा हिँड्ने बानी पर्‍यो । त्यसपछि उनले फेरि कहिल्यै कपाल राखेनन् । तर, जब घामको तापले  टाउकोलाई सताउन्थ्यो, उनी टोपी लगाउँथे । बिस्तारै टोपी उनको पहिचान र ट्रेडमार्क बन्यो । उनले विभिन्न प्रकारका टोपीहरू संकलन गर्न थाले ।

टोपीबाहेक उनी जुत्ता र घडी संकलन गर्न पनि रुचाउँथे । “मेरो साइजको जुत्ता पाउन धेरै गाह्रो छ, त्यसैले एकपटक जब म आगरा गएँ, मैले एकैचोटि ६५ जोडी जुत्ता किनेँ । तर, त्यो स्टक पनि चाँडै सकियो,” उनले आफ्नो आत्मकथामा लेखेका छन्, “सुटिङको क्रममा यदि मलाई कुनै जुत्ता मन पर्‍यो, म निर्मातालाई त्यो उपहार दिन मनाउँछु ।”

अरूको अभिव्यक्तिलाई नजिकबाट नियाल्नु उनको बानी थियो । उनका छोरा राजीव पुरीले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, “कारमा यात्रा गर्दा पनि उनी प्रहरी जवानको सर्ट कस्तो फिट हुन्छ र जुत्ता कति पुरानो छ भनेर याद गर्थे । उहाँले चलचित्र ‘गर्दिश’मा यो भूमिका धेरै राम्रोसँग निभाउनुभयो ।” 

अमरीशले कुल ३१६ चलचित्रमा काम गरे । श्याम बेनेगलको ‘नेताजी सुभाषचन्द्र बोस, द फोरगटन हिरो’ उनको अन्तिम चलचित्र थियो ।

आफ्ना अन्तिम दिनहरूमा उनी रक्तक्यान्सरबाट पीडित थिए । सन् २००५ जनवरी १२ मा ७३ वर्षको उमेरमा उनको निधन भयो । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्