
पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ ।
कार्यालयले चालु आवको ११ महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रकम खर्चिएको छ ।
आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ४६.४३ प्रतिशत रहेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगन्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।
दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने ११.२३ प्रतिशत छ । रासस