
काठमाडौं । घरेलु टिम इंग्ल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाहुना टोली भारत पाँच विकेटले पराजित भएको छ । मंगलबार इंग्ल्यान्डको लिड्समा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३७१ रनको लक्ष्य इंग्ल्यान्डले पाँच विकेट गुमाएर भेटायो ।
इंग्ल्यान्डलाई जितसम्म पुर्याउन दोस्रो इनिङमा बेन डकेटले सर्वाधिक १४९ रनको शतकीय इनिङ खेले । उनले १७० बलमा २१ चौका र एक छक्का प्रहार गरे । यस्तै, ओपनर जाक क्रावलीले ६५ र जोए रुटले ५३ रन जोडे । जेमी स्मिथ र कप्तान बेन स्टोक्सले क्रमशः ४४ र ३३ रन थपे ।
दोस्रो इनिङमा भारतका प्रशिद्ध कृष्णा र शार्दुल ठाकुरले समान दुई विकेट लिए । रवीन्द्र जडेजाको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिलो इनिङमा तीन ब्याटरले शतक बनाएपछि भारतले ४७१ रन बनाएको थियो ।
पहिलो इनिङमा भारतका कप्तान सुभमन गिलले १४७ रन बनाउँदा ऋषव पन्तले १३४ र ओपनर यशश्वी जैसवालले १०१ रनको शतकीय इनिङ खेलेका थिए ।
पहिलो इनिङमा ओले पोपले शतक बनाएपछि इंग्ल्यान्डले पनि ४६५ रन बनाउँदै भारतसामु बलियो चुनौती प्रस्तुत गरेको थियो ।
दोस्रो इनिङमा भारत ३६४ रनमै समेटिएपछि इंग्ल्यान्डले ३७१ रनको लक्ष्य पाएको थियो ।
यो जितसँगै पाँच खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो टेस्ट जुलाई २ देखि सुरु हुनेछ ।