
काठमाडौं । घरजग्गा व्यवसायमा मन्दी आएपछि समस्यामा परेको देशको पुरानो निजी निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको स्वामित्व व्यावसायिक घराना आईसीटीसी ग्रुपले खरिद गर्न लागेको छ ।
निर्माण व्यवसाय साझेदारीमा सञ्चालन गर्न सीई र आईसीटीसी ग्रुपबीच संयुक्त उपक्रम (जेभी) सम्झौता भइसकेको छ ।
आईसीटीसीको प्रवेशपछि सीईले सरकारी ठेक्कामा पनि भाग लिने भएको छ । सीईले सरकारी निर्माणको काम गरेको छैन ।
आउँदो साउनदेखि सीईमा आईसीटीसी प्रवेश गर्ने तयारी छ । सीईको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि संयुक्त रूपमा कम्पनी सञ्चालन हुने स्रोतले बतायो ।
स्रोतका अनुसार, सीईको डीडीएको काम भइरहेको छ । डीडीएपछि आउने प्रतिवेदनका आधारमा सीईमा आईसीटीसीले लगानी गर्ने रकम तय हुने भएको हो ।
आईसीटीसीको सीईमा आधा वा ५१ः४९ प्रतिशत हिस्सा हुन सक्ने बुझिएको छ । सेयर स्वामित्वमा समझदारी हुन बाँकी छ ।
कुनै बेला देशमा ठूला आयोजनामा विदेशी लगानीकर्ता र निर्माण व्यवसायी भित्र्याउन स्थानीय प्रतिनिधि (लोकल एजेन्ट) मा आईसीटीसी ग्रुपको रजगज चलेको थियो । आईसीटीसीले नेपालमा विदेशी कम्पनी भित्र्याउन स्थानीय एजेन्टको रूपमा काम गर्दै आएको थियो ।
पछिल्लो समय नेपाली निर्माण व्यवसायी सबल हुँदै गएपछि स्थानीय एजेन्टको भूमिका कमजोर भयो । ग्रुपले लगानी विविधीकरण गर्न आफैँ निर्माण व्यवसायमा प्रवेश गर्न लागेको हो ।
केही वर्षदेखि सुस्ताएको आईसीटीसी ग्रुप अब केही समयपछि निर्माण व्यवसायमा सक्रिय बन्न लागेको हो ।
सरकारले पाँच अर्ब रुपैयाँसम्मका काम नेपाली निर्माण व्यवसायीले गर्ने नीतिगत व्यवस्था गरेको छ ।
उक्त रकमभन्दा बढी लगानीमा बन्ने ठूला पूर्वाधारमा विदेशी कम्पनीले नेपाली ठेकेदारसँग जेभी गर्नुपर्ने वाध्यकारी व्यवस्थाले गर्दा स्थानीय प्रतिनिधिको भूमिका कम हुँदै गएको छ ।
स्थानीय एजेन्टको भूमिका खुम्चिएको र चीनले पनि सरकारी लगानीका ठेक्कामा स्थानीय एजेन्ट राख्न नपाउने व्यवस्था गरेपछि आईसीटीसी सार्वजनिक निर्माणमा प्रवेश गर्न लागेको हो ।
यस्तै, परामर्शदाताको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ लिमिटेड र चिलिमे हाइड्रोपावर कम्पनीको चिलिमे इन्जिनियरिङले गर्न थालेपछि नेपाली परियोजनामा विदेशी परामर्शदाताको भूमिका खुम्चिन पुगेको छ ।
त्यसकारण पनि आईसीटीसीले निर्माण व्यवसाय हात हाल्न पुगेको हो । आईसीटीसी ग्रुपले ह्यात रिजेन्सी होटेल, माथिल्लो सोलु जलविद्युत् आयोजना, हाइल्यान्ड डिष्ट्रीलरी, युनाइटेड लिकर्स र अभिनास डिष्टिलरी उद्योग सञ्चालन गरिरहेको छ ।
सीईले निजी लगानीमा बन्ने जलविद्युत्, हाउजिङलगायत पूर्वाधार निर्माण गर्दै आएको छ । आईसीटीसीको प्रवेशपछि सीईले निजीका साथै सरकारी ठेक्कामा बलियो उपस्थिति देखाउने भएको छ ।
आईसीटीसीले सरकारी निकायसँग गरेको कामको अनुभव सीईमा जोडिने भएको छ । “प्राविधिक र वित्तीय विश्लेषकको रूपमा सीई अनुभवी कम्पनी हो । यस्तै, ठूला लगानी ल्याउन र सरकारी काममा आईसीटीसीको अनुभव छ । दुवै अनुभव एकीकृत गर्न साझेदारी हुन लागेको हो” स्रोतले भन्यो ।
हाउजिङ, जलविद्युत् र निर्माण व्यवसायमा आक्रामक भएर लगानी गरेको सीई कन्स्ट्रक्सन वित्तीय संकटमा छ । सीई ग्रुपले हाउजिङ व्यवसाय गर्दै आएकामा पछिल्लो समय जलविद्युत् आयोजनामा लगानी तथा निर्माणको काम गर्दै आएको छ ।
आक्रामक रूपमा लगानी बढाइरहेको सीई घरजग्गा व्यवसाय सुस्ताएपछि एकाएक धर्मराएको छ ।
स्रोतका अनुसार, सीईले सरकारलाई ८० करोड रुपैयाँ बढी कर बुझाउन बाँकी छ ।
यस्तै, घरजग्गा व्यवसाय ठप्प भएपछि सीईले गरेको अर्बौं रुपैयाँ लगानी जाम हुन पुगेको छ । जसले गर्दा कम्पनी नगद–प्रवाहको समस्या झेलिरहेको छ । नगदको अभाव झेलिरहेको सीईमा आईसीटीसीको प्रवेशले सञ्चालन हुने वातावरण बन्ने देखिएको स्रोतको भनाइ छ ।
सीई कन्स्ट्रक्सनको स्थापना सन् १९९२ मा विजय राजभण्डारीले गरेका हुन् । कम्पनी स्थापना भएको ३३ वर्ष पुगिसकेको छ ।
कम्पनीका अध्यक्ष राजभण्डारीले सीईलाई एक खर्ब रुपैयाँको पोर्टफोलियो भएको कम्पनी बनाउने योजना अघि सारेका थिए । तर, घरजग्गा व्यवसायमा मन्दी आएपछि यसको असर सीईले भोग्नुपरेको छ ।
यस्तै, साधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने योजना सीईले बनाएको थियो ।
सीई ठूला पूर्वाधारका साथै हाउजिङ निर्माण परियोजना निर्माणमा अग्रस्थानमा आउँछ । सुरुमा तीन लाख रुपैयाँमा सीईको स्थापना भएको हो ।
सीईले गोकर्ण रिसोर्ट, बागबजारको आराधना कम्प्लेक्स, बी एन्ड बी हस्पिटलको दोस्रो फेज, हात्तीसारमा रहेको लक्ष्मी बैंक भवनलगायत धेरै भवन बनाएको छ ।
सीईले आफ्नो पूर्ण स्वामित्वमा निर्माण गरेको पहिलो हाउजिङ परियोजना विजेश्वरीको रिट्रिट अपार्टमेन्ट हो ।
यसअन्तर्गत कम्पनीले ४० भन्दा बढी ठूला अपार्टमेन्ट निर्माण गरेको छ । रिट्रिट अपार्टमेन्ट, हार्मोनी हाउजिङ, ग्रान्डी भिल्ला, सृष्टि कोलोनी सीई आफैँले बनाएको हाउजिङ परियोजना हुन् ।