आजकाल ‘हनुमान’ शब्दको नकारात्मक अर्थमा प्रयोग हुने गरेको छ । कुनै नेतासँग कोही नजिक भयो वा सँगैसँगै हिँड्यो र उसको कतै चर्चा गर्ने हो भने त्यसलाई हनुमान भन्ने गरेको पाइन्छ ।
राजनीतिमा प्रयोग गरिने यो 'हनुमान'को उपमाले आफू केही नजान्ने, नेताको इसारामा यन्त्रवत् चल्ने मानव भन्ने बुझाउँछ । जसको कुनै इलम छैन, चिया पसल वा चौतारोमा गफ चुट्ने र नेताको दौराको फेर समातेर अघिपछि गर्ने परावलम्बी पात्रलाई आजकल हनुमानको उपमा दिइएको पाइन्छ । तर त्यस्ता परजीवी कुपात्रलाई परमवीर ज्ञानी शक्तिशाली हनुमानसँग दाँज्नु गलत हो ।
हो ! हनुमान आज्ञाकारी थिए । उनी रामचन्द्रका परम भक्त थिए । रामको भक्ति गर्नु दास बन्नु होइन । हनुमान स्वयं शक्तिशाली, ज्ञानसागर थिए । उनलाई कसैसँग याचना गरेर जीवन धान्नुपर्ने थिएन । महादेवकै अंशावतार मानिन्छन् – हनुमान । विष्णुको अवतारका रूपमा जन्मेका रामलाई सहयोग गर्न शिवले आफ्नो रौद्रशक्तिको एक अंश पवनदेवको माध्यमद्वारा अञ्जनीको गर्भमा प्रवेश गराई पवन सुत हनुमानको जन्म भएको प्रसङ्ग पुराणमा छ ।
पौराणिक प्रसङ्गअनुसार मारुतीकी माता अञ्जनी अप्सरा थिइन् । उनको ऋषिश्रापका कारण मनुष्य योनीमा जन्म भयो तर लामो समयसम्म सन्तान नभएपछि देवाधिदेव शिवको कठोर तपस्या गरिन् । फलस्वरूप पवनदेव (वायु) को आशीर्वाद र शिवको वरदान स्वरूप हनुमानको जन्म भयो । हनुमानको बाल्यकालको नाम मारुती थियो । अर्थात् हनुमान अलौकिक शक्तिवान् पुरुष हुन् ।
उनी सानै छँदा उनकी आमा फूलप्रसादलगायत पूजा सामग्री तयारी गर्न बाहिर जाँदा भोकले छट्पटाएका हनुमानले माथि आकाशमा हेर्दा अत्यन्तै रातो र राम्रो गोलाकार वस्तु देखे । त्यो राम्रो गोलाकार वस्तुलाई मीठो फल ठानेर आकाशमा गई सूर्यलाई नै निलिदिए । बडो अनर्थ भयो । तत्काल इन्द्र आएर हनुमानलाई बज्र प्रहार गरी सूर्यलाई मुखबाट बाहिर निकाले । बज्र प्रहारद्वारा मारुतीको हनु (चिउँडो) भाँचियो र बेहोस भई धर्तीमा झरे ।
छोराको यो हालत देखेर पवनदेवले आफ्नो वेग बन्द गरे । जताततै हाहाकार मच्चियो । हावा अर्थात् प्राणवायु नै बन्द भएपछि सृष्टिको क्रम नै भंग हुने डरले ब्रह्मा आई मारुतीलाई होसमा ल्याइदिए । छोरो होसमा आएपछि पवन देव र अञ्जनी पनि खुसी भए । पवन पनि आफ्नै गतिमा बग्न थाल्यो ।
आफ्नो बज्रले हनु भाँचिएको हुँदा अब सबै लोकले यिनलाई सम्मान गर्ने वा मान्ने इन्द्रले आशीर्वाद दिए । सूर्यले सम्पूर्ण शास्त्रार्थ सिकाउने, ब्रह्माले ब्रह्मज्ञान प्रदान गर्ने, शंकरले कसैले पनि उनलाई मार्न नसक्ने वर दिने, विश्वकर्माले कुनै पनि आफूद्वारा निर्मित शत्रअस्त्र अर्थात् धातुजन्य हतियारले नाश गर्न नसक्ने, जलदेव वरुणले जलमा नमर्ने, यमराजले कहिल्यै पनि कालले छुन नसक्ने वर प्रदान गरे । यसरी कैयौं देवीदेवताको शक्ति प्राप्त अविजेय पुरुष हुन् हुनमान ।
हनुमान अष्टचिरञ्जीवीमध्ये एक हुन् । उनी कहिल्यै मर्दैनन् र अहिले पनि गन्धमादन पर्वतमा बसी आफ्ना असल सत्मार्गी भक्तहरूको रक्षा गर्दैछन् भन्ने विश्वास गरिन्छ ।
समग्रमा हेर्दा त्रेतायुगमा रामको आज्ञापालन गरेको देखेर उन परमभक्त भनिन्छ । हुन पनि आकुल व्याकुल भई अशोक वाटिकामा छट्पटाएकी सीतालाई श्रीरामको चिनो औँठी लगेरदिनु, रावणको लंका दरबार पुच्छरमा लागेको आगोद्वारा नष्ट पारिदिनु, रावणका भाइ विभीषणलाई रामसँग भेट गराइदिनुजस्ता कार्य गरेको देख्दा रामका दूत बनी सहयोगी भूमिका निर्वाह गरेको र रामको आज्ञा शिरोपर गरी पालना गरेको देख्दा अल्पज्ञानीले हनुमानलाई कमजोर पात्र ठानेर नेताका पिछलग्गुलाई 'हनुमान' भन्ने गरेको हुनसक्छ ।
एकपटक अहिरावणले राम र लक्ष्मणलाई अपहरण गरी पातालमा लगेर भोग दिन लागेको थियो । त्यो थाहा पाएर हनुमान पुगी बचाउन कोसिस गर्दा जसले चारतिर चार दिशामा प्रज्ज्वलन गरिएका र देवीको मूर्ति अगाडि राखिएको गरी ५ वटा बत्ती एकै झोक्कामा एकैसाथ निभाउन सक्छ उसले मात्रै राम र लक्ष्मणलाई फिर्ता लैजान सक्छ भन्ने सर्त राखियो । उनले तत्क्षण आफूलाई पञ्चमुखी (पाँचवटा मुख) अवतार धारण गरी राम र लक्ष्मणलाई फिर्ता लगेको प्रसङ्गले पनि रामकोभन्दा हनुमानमा कम शक्ति थिएन भन्ने बुझिन्छ ।
द्वापर युगमा भीम र अर्जुनले आफ्नो शक्तिको घमण्ड गर्दा हनुमानले उनीहरुको सेखी तोडिदिएको कथा छ । लंकामा रावणले थुनेर राख्दा हायलकायल भएका शनिदेवलाई पनि हनुमानले जेलमुक्त गरिदिएका थिए ।
देवताहरु आकाशमा आफैँ उडेका प्रसङ्गहरु छ्रैनन्, कुनै यान मार्फत् उडेका भेटिन्छन् । जस्तै विष्णुको वाहन थिए गरुड । तर हनुमान स्वयं कुनै साधन विना उड्न सक्दथे । उनी सानैमा भोक लाग्दा फल या रोटी सम्झी आकाशमा रहेका श्री सूर्यलाई खान उडेर गएका थिए । अहिरावणले राम र लक्ष्मणलाई पातालमा बली दिन लाग्दा अति उच्च वेगमा उडेर बचाउन पुगेका थिए ।
जलदेव वरुणले हनुमानलाई पानीमा मृत्यु नहुने वर दिएका थिए । उनी समुद्रपार सजिलै गर्न सक्थे । पौड्नुमा, दौडनुमा, उड्नुमा उनीलाई कसैले भेट्दैनथे । बाली पुत्र युवराज अंगदलाई समुद्रपार गरी लंका जान पठाउँदा आफू जान सक्ने तर फर्कने विद्यामा आफू कमजोर रहेको शंका अंगदले राखेपछि जाम्वान्ले हनुमानलाई उँड्ने शक्ति भएको स्मरण गराएपछि उँडेर गएको प्रसङ्ग रामायणमा छ । इन्द्रजितको वाण लागेर मरणासन्न अवस्थामा पुगेका लक्ष्मणलाई बचाउन उँडेर द्रोणाचल पर्वतमा गई पर्वत नै उचालेर ल्याई सञ्जीवनी बुटीद्वारा लक्ष्मणलाई बचाएको प्रसङ्ग पनि विचित्रको छ । उँड्नेमात्र होइन सिङ्गो पहाडनै बोक्ने अद्भूत शक्ति थियो हनुमानमा ।
यस्ता दैवी शक्तिमान् हनुमानलाई नाथे चम्चेहरूसँग तुलना गर्नु उनीप्रति गरिएको अन्याय हो । महान् बलशाली हनुमानको शक्ति आकलन गर्न नसक्ने अल्पज्ञानीहको छुद्र मनःस्थितिको प्रयोग हो यो । कसैले कसैको प्रशंसा गर्दैमा हनुमान बन्न सक्दैन । हिजोआज त आफूलाई मन नपर्ने व्यक्तिको विषयमा केही लेखिदियो भने पत्रकार पनि हनुमान । कसैले सामाजिक सञ्जालमा कसैका बारेमा बोलिदियो कि त्यो पनि हनुमान । कसैले कसैका बारे राम्रा कुरा गर्नु पनि हुँदैन ।
समाज दिन प्रतिदिन नकारात्मकतातर्फ बढेको देखिन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो नै भन्न सक्नुपर्छ । अनिमात्र हामी सभ्य समाजको निर्माण गर्न सक्छौँ । पछिल्लो समयमा कसैलाई गाली गरे वाहवाही पाइने र असल कार्यको चर्चा गरे गाली खाइने हुन्छ । सामाजिक सञ्जालको सस्तो लोकप्रियताले पनि यसलाई बढावा दिएको छ ।
हनुमान साक्षात् भगवान हुन् । युगौँसम्म जीवित रहने चिरञ्जीवी हुन् । उनीलाई कल्प कल्पसम्म सशरीर रहने वरदान छ । उनी आफैँमा सर्वज्ञ मानिन्छन् । हनुमानलाई अष्टसिद्धि प्राप्त छ । उनको पूजा, आराधना एवं पाठ पारायण गर्नेको सबै सङ्कट मोचन गर्न सक्ने तथा रोग व्याधि निवारण गर्ने शक्ति छ हनुमानमा । यस्ता कर्मवीर हनुमानको नाम उपहासमा होइन आदर्शका रूपमा लिनुपर्छ । भाषा शास्त्रको हिसाबले पनि यसरी अर्थ संकुचन गरी ‘हनुमान’ शब्दको प्रयोग गर्नु उचित हुँदैन ।