
काठमाडौं । शिक्षकहरूले दिएको समयसीमाभित्र विद्यालय शिक्षा विधेयक संसद्बाट पारित नहुने निश्चित भएको छ । गत वैशाख १७ गते शिक्षकहरूले सरकारलाई शिक्षा विधेयक संसद्बाट पारित गर्न असार १५ गतेसम्मको समय दिएका थिए ।
तर, विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट छलफल जारी रहेकाले तोकिएको समयमा टेबुलसमेत नहुने भएको हो ।
“विधेयक आज प्रतिनिधिसभामा टेबुल हुने छैन । विधेयकमाथि छलफल जारी छ । भोलि बिहान ८ बजे बैठक बस्छ,” समितिका सभापति अम्बरबहादुर थापाले भने ।
आइतबारको बैठकमा पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने विषयमा सहमति जुटाएको छ । यस्तै, बैठकमा शिक्षा संकायबाहेकले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति भएको छ । विधेयक पारित भएपछि विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने छन ।
यसअघि, पूर्वप्राथमिक शिक्षा (ईसीडी)लाई दुईवर्ष राख्ने सहमति जुटेको थियो । त्यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेस्तरबाटै सञ्चालन गर्ने सहमति जुटेको थियो ।
आजैमात्र नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको टोलीले सरकारसँग विधेयक पारितका विषयमा छलफल गरेको छ ।