site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रातृ संस्थाको म्याद थप्ने तयारीसहित यस्ता छन् कांग्रेस एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले सोमबार (असार १६)देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि ‘एजेन्डा’ तय गरेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको हो । 

गत असोजदेखि माघसम्मको सयदिने अभियानको प्रतिवेदन पेस गर्ने मुद्दालाई पहिलो नम्बरमा राखेको कांग्रेसले संगठन सुदृढीकरणका लागि सुझावहरू कार्यान्वयन गर्ने बताएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, दोस्रो मुद्दा महाधिवेशन गर्न नसकेका सात भातृ संस्थाका विषयमा आवश्यक निर्णय गर्नेछ । 

६ महिनाका लागि भन्दै ०७८ सालमै तोकिएका अध्यक्षहरूदेखि त्यसपछि तोकिएको अध्यक्षको नेतृत्वमा महाधिवेशन गर्न नसके चैत मसान्तमा स्वतः कार्यसमिति विघटन हुने निर्णयसहित असोज १६ को बैठकबाट निर्णय गरी सोहीअुनसार परिपत्र भएको थियो । त्यसमध्येका सात भातृ संस्थाले अधिवेशन गरेका छैनन् भने नेविसंघ, महिला संघसहितका केही भातृ संस्थाले महाधिवेशनका लागि प्रारम्भिक काम सदस्यता नवीकरण तथा नयाँ वितरण समेत सम्पन्न गरेका छैनन् । कांग्रेस संस्थापन पक्षले ती भाृतृसंस्थासहित सबैलाई निश्चित समय तोकेर पुनः म्याद थप्ने तयारी गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसका लागि भ्रातृसंस्थाको महाधिवेशन गर्न बनाएको निर्देशन समितिलाई महाधिवेशन कार्यतालिका पेस र त्यसअनुरुप महाधिवेशन गराउने जिम्मेवारी लिनका लागि निर्देशन दिने तयारी कांग्रेसले गरेको छ । 

केन्द्रीय समितिको अर्को मुद्दा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि चैत मसान्तमा सदस्ताको विवरण पठाइसक्न अन्तिम पटकका लागि गत माघमा नै परिपत्र गरेको थियो । तर, चैत मसान्तसम्म केही जिल्लाबाहेक कसैले नपठाएपछि वैशाख १५ गतेसम्मको म्याद थप गर्दै अर्को परिपत्र भएको थियो । तर, दोस्रो परिपत्रमा पनि कुनै प्रगति नभएपछि असार मसान्तसम्मको म्याद थपेर पुनः परिपत्र गरिएको छ । 

केन्द्रीय अनुशासन समितिले ०७९ को निर्वाचनमा विश्वासघात गरेका र बागी उमेदवारी दिएकाहरूलाई कारबाही गरेपछि  क्रियाशील सदस्यता टुंग्याउने भन्दै समितिलाई आइतबार (असार १५) सम्मको म्याद दिएको थियो । अनुशासन समितिले पनि कारबाहीको विवरण सार्वजनिक गरिसकेको छैन । 

कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्थाका लागि विधान परिमार्जन गर्ने विषय पनि बैठकको एजेन्डामा परेको छ । विगतमा क्रियाशील सदस्यमध्येबाट मात्र जनसम्पर्क समितिको सभापति हुने र सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था परिमार्जन गर्दै कांग्रेसले यसअघि तीनपटक लगाएर निर्णय गरेको थियो । 

कांग्रेसले गरेको निर्णयअनुसार विदेशमा बस्ने नेपालीमूलका विदेशी नागरिकले पनि अब जनसम्पर्क समितिको साधारण सदस्यता लिएर नेतृत्व गर्न पाउने छन् । तर, नेपालको संविधानअनुसार, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भने क्रियाशील सदस्यता रहेका र नेपाली नागरिकता नत्यागेकाहरूले मात्र बन्न पाउने गरी कांग्रेसले विधान परिमार्जन गर्न लागेको हो ।  

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिक प्रकाशन गर्ने तथा पार्टीको नीतिबारे सार्वजनिक बहस चलाउने अर्को मुद्दा रहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्