site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्ले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नु पटक्कै राम्रो भएन : घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार (असार १६) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।

समितिमा यस दिन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रस्तुतपछि उनले देशमा न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी गरे । विनियोजन विधेयकमाथि पनि अदालत प्रवेश गर्नु पटक्कै राम्रो नभएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“संसद्ले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन,” उनले भने, “यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।”

सर्वोच्चमा कुनै कार्य धेरै समय अड्कने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै उनले प्रश्न गरे । शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

“...सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त जुन छ, यसमा यो उल्लंघन हुन थालेको देखिएको छ,” उनले भने, “एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ । यसलाई रोक्नैपर्छ ।”

प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्