
काठमाडौं । कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने अधिकांश नदीमा बाढीको जोखिम छ । मंगलबार (असार १७) बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १६, बिहान ११ः५० बजे । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने, सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न/जानुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको जनाएको थियो ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।