
काठमाडौं । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको विशेष अदालतले सोमबार सजाय निर्धारण गरेको छ ।
कुल १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर भएका बस्नेतलाई तीन वर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिबाना हुने फैसला भएको छ ।
उता, ९ करोड २२ लाख ४६ हजार भ्रष्टाचार ठहरमा भने घुस दिने माउन्टेन टेलिभिजनका समेत सञ्चालक रहेका पद्मा कोलोनी प्रा.लि. र पद्मा मर्चेन्ट प्रा.लि.सहितलाई दोषी ठहर गरेको छ । बस्नेत र तीन कम्पनीलाई जनही आठ वर्ष कैद तोकिएको छ ।
यस्तै, भ्रष्टाचार भएको रकम भने प्राकृतिक र कानुनी व्यक्ति (दुई कम्पनी)बाट दामासाहीले हुने दुई करोड ३० लाख ६१ हजारका दरले असुल उपर हुने फैसला भएको छ ।
उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यही असार ६ गते फैसला गरेको थियो । सजाय भने सोमबार निर्धारण भएको हो ।
मोहनबहादुरलाई नगरप्रमुखको जिम्मेवारीमै रहेर भ्रष्टाचार गरेवापत थप तीन महिना कैद तोकिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ उनलाई थप तीन महिना १८ दिन कैद र दुई करोड ६५ लाख ५४ हजार जरिबाना तोकिएको छ ।