site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे
देवराज घिमिरे । फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई जनताका पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाका रूपमा विकास गर्नुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा सोमबार (असार १६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चका रूपमा विकास गर्न नहुनेमा उनले जोड दिए । उनले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासलाई विफल पार्न संसद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रूपबाट यसलाई लानुपर्छ,” उनले भने ।

पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौती सामना गर्नुपर्ने उनले धारणा राखे । व्यवस्था र प्रणालीको रक्षाका निम्ति एकजुट हुन उनले आह्वान गरे ।

“खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढंगबाट गरिएका कोसिसहरू निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो,” उनले भने, “त्यसो गर्नको लागि संसद्माथि आशा, विश्वास जगाउने गरी कामहरू गर्नुपर्छ ।”

संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उनले बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्