
काठमाडौं । भारतीय प्रहरीले वैशाख अन्तिम साता भारतमा खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलवाडीलाई पक्राउ गर्यो ।
गत वैशाख २७ मा प्रकाशित भारतीय अखबार इन्डियन एक्सप्रेसको समाचारअनुसार कश्मीर सिंह खालिस्तानी आतंकवादी नेटवर्क सञ्चालन गरी बसेका हरविन्दर सिंह सन्धु (रिन्डा) को प्रमुख सहयोगी थिए ।
उनलाई भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले लामो समयको निगरानीपछि पक्राउ गरेको हो । सिंहलाई नेपालबाट पक्राउ गरी भारत लगिएको दाबी अखबारले गरेको छ ।
पन्जाब लुधियानाका कश्मीर सिंह सन् २०१६ को नाभा जेल ब्रेकबाट फरार भएका कुख्यात अपराधीमध्ये एक हुन् ।
उनीमाथि भारतीय प्रहरीले सीमापार अपराधमा संलग्न रहेको दाबी गरेको छ ।
उनीमाथि भारतका ठाउँ–ठाउँमा आक्रमण गरेको अभियोग छ ।
उनी नेपाल प्रवेश गरी खालिस्तानी आतंकवादीलाई आश्रय र पैसा उपलब्ध गराउने काम गरेको सूचना भारतीय अनुसन्धान निकायले संकलन गरेको छ ।
सिंहलाई पक्राउ गर्न सफल एनआईएले यसअघि उनीबारे सूचना दिने व्यक्तिलाई १० लाख भारतीय रुपैयाँको गोप्य इनाम दिने घोषणा नै गरेको थियो ।
यसरी भारतीय प्रहरीको मोस्ट सूचीका आरोपी सिंह नेपालबाट पक्राउ परेका एक्ला व्यक्ति भने होइनन् ।
भारतको जम्मु–कस्मिरमै आतंकवादी गतिविधिमा संलग्न रहेर सुरक्षाकर्मीको हत्या गरेको आरोप लागेका तीन भारतीय पनि यसअघि नेपालबाट पक्राउ परेका थिए ।
२०७८ मा कात्तिकमा संयुक्त अरब इमिरेट्स (युएई) को सारजहा विमानस्थल हुँदै नेपाल प्रवेश गरेका उनीहरू त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।
उनीहरूलाई प्रहरीको विशेष ब्युरोको टोलीले सुनौली नाकामार्फत भारतीय प्रहरीलाई बुझाएको थियो ।
पक्राउ पर्नेहरूमा मोहम्मद नुर, मोद रसाद र यासिर अरफत थिए । यसबाहेक चर्चित भारतीय पन्जाबी गायक सिद्धू मुसेवालाका नामले परिचित सुभदीप सिंह सिद्धूलाई गोली हानी हत्या गर्ने समूहका केही आरोपीसमेत नेपाल छिरेको आंशका छ ।
गएको जेठमा सिद्धू मूसेवालामाथि पञ्जाबको मानसामा गोली हानिएको थियो । २८ वर्षीय मुसेवालाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।
‘सड्डा चलदा है धक्का’ ‘डँलरां वाङ्गु नी नाम साड्डा चलदाँ’ लगायतका उनका गीत चर्चामा छन् । उनको हत्या आंशकामा केही अरोपी पक्राउ गर्नुबाहेक अझै पन्जाब प्रहरीले सुटर पक्राउ गर्न सकेको छैन ।
गायक मुसेवालाको हत्याका शंकास्पद आरोपी काठमाडौंमा रहेको सूचनाका आधारमा पन्जाब प्रहरीको टोली गत फागुनमा काठमाडौं आएको थियो । तर, उनीहरू नेपाल प्रहरीसित समन्वय नगरी काठमाडौं आएका थिए ।
तिनीहरू त्यसरी आएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलको एक होटलबाट नियन्त्रणमा लिएको थियो ।
तर, पछि उनीहरूलाई भारतीय दुतावासको जिम्मा लगाउँदै छाडिएको थियो । त्यतिबेला पन्जाब प्रहरीको डीएसपी टोलीसहित ७ जना प्रहरी काठमाडौं आएका थिए ।
ब्युरो स्रोतका अनुसार, उनीहरूले करिब एक महिनासम्म ठमेलस्थित अलफ्ट होटलमा बसेर शंकास्पद आरोपीमाथि निगरानी गरेका थिए । टोखाको एक रेष्टुरामा शंकास्पद अपरेसन चलाउँदा तिनीहरू सीआईबीको फन्दामा परेका थिए ।
ब्युरो स्रोतका अनुुसार, भारतमा अपराध गरेर नेपाल आश्रयस्थल बनाउने समूहमाथि भारतीय प्रहरीले नेपालमै आएर गोप्य अपरेसन चलाउने गर्छन् ।
प्रहरी अधिकारी भन्छन्, ‘‘खुला सीमाका कारण भारतमा ठूलो अपराध गरेर नेपाल सुरक्षित ठानेर उनीहरू यहाँ आउने गरेका हुन् । तिनलाई खोज्न भारतीय प्रहरी आउने गरेका हुन् । नेपालमा अपराध गरी भारततिर भागेकाहरूलाई हामी पनि ल्याउने गर्छौँ । यो दुई देशबीच अघोषित सम्झौताभन्दा पनि हुन्छ ।”
पछिल्लो समय चैत १५ मा तीनकुेनमा राजावादी आन्दोलन अराजक बनाउँदै भागेका दुर्गा प्रसाईंलाई पनि त्यही शैलीमा नेपाल प्रहरीले असमबाट पक्राउ गरेको थियो ।
भारतले पनि नेपालमा रहेर भारतविरुद्ध शंकास्पद गतिविधि गर्ने र भारतमा संगठित अपराध गरेर नेपाल प्रवेश गर्नेविरुद्ध कडा अपरेसन चलाउँदै आएको छ ।
भारतीय जाली नोटको कारोबार गर्ने नेपालीलाई समेत गुप्तचरी निकायमार्फत हत्याको शृङ्खला चलाउने गर्छ ।
त्यसका लागि भारतको गुप्तचर निकाय ‘रअ’ ले ठूलो आर्थिक लगानी अपरेसन चलाउने गरेको ब्युरो स्रोत बताउँछ ।
त्यसका लागि भारतमै अपराध गरी जेल बसेका अपराधीहरूलाईसमेत ‘रअ’ले प्रयोग गर्ने गरेको दाबी नेपाल प्रहरीको छ । सञ्चार उद्यमी जमिम शाहदेखि २०७९ असोजमा काठमाडौंको गोठाटारमा हत्या गरिएका लाल मोहमदको हत्यामा समेत भारतीय गुप्तचरी निकायको भूमिका शंकास्पद देखिएको थियो ।
नेपाली नागरिकता लिएर बस्छन् नेपालमा !
प्रहरी उच्च स्रोतका अनुसार, भारतमा अपराध गरी नेपालमा नागरिकतासमेत लिइ बस्ने गरेको पाइएको छ । भारतमा गरेको अपराध कर्म लुकाउन उनीहरू नेपाली नागरिकता लिँदै बस्ने गरेका हुन् ।
ब्युरोका स्रोतका अनुुसार, पछिल्लो समय पाँच वर्षमा एक अर्ब भारतीय रुपैयाँ जम्मा गर्ने उद्देश्यले २०१४ देखि सञ्चालन गरेको सम्पत्ति व्यवस्थापन स्टार्टअप मिनान्स ‘मनिङ पिच’ नामक नेटवर्किङ चलाएर ठगी गरेका आरोपीसमेत नेपालमा लुकेको दाबी भारतीय गुप्तचर निकायको छ ।
बैंगलोरका अनुराग भटियाले नेपाली नागरिता लिएको खुलेको हो । उनी ९२ लाख भारतीय रुपैयाँ ठगीको आरोपमा भारतमा पक्राउ परी जमानीमा छुटेका थिए । तर, पछि उनी भागेर नेपाल आएको खुलेको छ ।
ब्युरो स्रोतबाट प्राप्त नागरिकता अनुसार, भटियाले धनुषाबाट नागरिकता लिएको देखिन्छ । भटियाले धनुषाको हरिने–२ बाट सुमन रायको नामबाट नागरिता लिएको देखिन्छ । उनको १७३०११/५८९ नम्बरको नागरिता दिएको देखिन्छ ।
प्रहरी उच्च स्रोतका अनुुसार, प्रहरीले उनलाई दुई वर्ष पहिला नक्सालको एक अपार्टमेन्टबाट पक्राउ गरेको थियो । हुण्डी कारोबारी आरोपमा पक्राउ परेका उनी पछि केही नखुलेपछि छाडिएको थियो । हाल उनी अज्ञात छन् ।
प्रहरी अधिकारीका अनुसार, उनी नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भागेको आंशका छ ।
प्रहरी अधिकारीका अनुुसार, भारतमा ठूला अपराध गरी नेपाल प्रवेश गरेका केही भारतीय ठूलो रकम खर्चिएर नेपाली नागरिकता बनाउँदै तेस्रो मुलुक भाग्ने गरेको आंशका गरेको छ । त्यसबाहेक केही भारतीय पासपोर्ट नै प्रयोग गरी नेपालको विमानस्थल हुँदै तेस्रो मुलुक जाने गरेको आंशका पनि छ ।
१० वर्ष कति भारतीयले प्रयोग गरे त्रिभुवन विमानस्थल ?
अध्यागमन विभागको तथ्यांक अनुसार, पछिल्लो ६ वर्षयता ७५ हजार ६ जना भारतीय नागरिकले त्रिभुवन विमानस्थलको बाटो प्रयोग गरी तेस्रो मुलुक गएको देखिन्छ ।
२०७४ यता यसरी गएकाहरूमध्ये केही आपराधिक गतिविधिमा समेत संलग्नहरू रहेको प्रहरीकै दाबी छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार, गृहमन्त्री रामबहादुर थापा हुँदा ३ वर्ष ४ महिनाको कार्यकालमा १५ हजार ३२ जना, बालकृष्ण खाँणको १ वर्ष ५ महिनामा २४ हजार ६२१ जना भारतीयले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए ।
यसरी गृहमन्त्री रवि लामिछानेको दुई कार्यकाल गरी ५ महिनामा ८ हजार २७९ जना र नारायणकाजी श्रेष्ठको ११ महिना ४ दिनको कार्यकालमा १४ हजार ७४ जना भारतीयले त्रिभुवन विमानस्थलको बाटो प्रयोग गरेको देखिन्छ ।
यसरी नै हालका गृहमन्त्री रमेश लेखकको करिब ११ महिनाको कार्यकालमा १३ हजार भारतीयले नेपालको विमानस्थल प्रयोग गरेको देखिएको छ ।