
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तसँग सांसदहरू असन्तुष्ट बनेका छन् । मन्त्री पन्तले नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा विधेयकबारे थप छलफल गर्नुपर्ने बताएपछि सांसदहरू असन्तुष्ट बनेका हुन् ।
सोमबारको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे छलफल चलिरहेको छ । सांसदहरूले विधेयक आजै पास गर्न दबाब दिइरहेका छन् । तर शिक्षामन्त्री भने शिक्षक महासंघसँग छलफल गर्ने तयारीमा छन् । शिक्षामन्त्रीले भने, "महासंघसँग अझै वार्ता गर्नुपर्ने देखिएको छ । सहमतिको प्रयत्न जारी छ । विधेयकमाथि छलफल गर्नुभन्दा आजको बैठक स्थगित गरौँ ।"
बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले विधेयक रोकेर राजनीतिक खेल नखेल्न सुझाइन् । "सहमति नजुटेको बुँदाहरू के के हुन् ? सांसदहरूले कानुन बनाउने हो । सबैको जिम्मेवारी हो । शिक्षा विधेयक रोकेर राजनितिक खेल नखेलौँ," उनले भनिन् ।
अर्का सांसद डिगबहादुर लिम्बूले विधेयकमा गम्भीर हुन आग्रह गरे । उनले समितिको बैठक कहिलेसम्म स्थगित गर्ने ? भन्दै प्रश्न गरे । "विधेयकबारे गम्भीर हुनुस् । म जिल्ला फर्किन्छु । म बैठकमा आउँदिन । समितिको बैठक कहिलेसम्म स्थगित गर्ने ? होइन भने गम्भीर हुनुपर्यो । बन्द गर्ने हो भने गरौँ," उनले भने ।
सांसद देवेन्द्र पौडेलले सरकारको परिपक्वता हुँदै नभएको बताए । "सरकारको परिपक्वता हुँदै भएन । सरकारको सहमति हो कि होइन ? विट मार्नको लागि दिनभरी कुरेर बस्यौँ । यो शैली र प्रवृत्तिले हुँदैन," उनले भने, "दुख नमान्नु होला । कार्यक्षमताप्रति गम्भीर विमती छ । अहिलेसम्मको मेहनतलाई अन्धकारतिर लगियो ।"
सांसद रेखा शर्माले विधेयक टर्छ भन्ने हल्ला आफूले सुनेको बताउँदै अहिले आएर सत्यमा परिणत हुँदा दुःख लागेको बताइन् । "हामी यहाँ सत्तापक्ष र प्रतिपक्ष छैनौँ । कता कता विधेयक टर्छ भन्ने हल्ला सुनेँ । त्यो अहिले आएर सत्यमा परिणत हुँदा दुख लाग्यो," उनले भनिन्, "हामीले शिक्षकका हकप्रति तागत लागेजति लगायौँ । सबैको चित्त बुझाएर जान्छौँ भन्ने छैन । विधेयकमा एउटा कुरा र प्रतिवेदनमा अर्को छ । अझै पनि समाधान खोजौँ । राति १२ बजेसम्म बसेर भए पनि टुंग्याऔँ । आजै विधेयक पास गरौँ ।"
माओवादी सांसद ज्ञानु बस्नेत महासंघलाई देखाएर अर्को षड्यन्त्र रच्न खोजिएको भन्दै आपत्ति जनाइन् । बैठकमा बिहानदेखि ८ घण्टा कुर्यौ । अझै अर्को ८ घण्टा बस्छौँ । स्थगित गर्ने कुरा नगरौँ । तपाईंहरूले महासंघलाई देखाएर भित्रभित्रै अर्को षड्यन्त्र हुन थाल्यो । सुरूमा भेट्न जाने अनि आएर स्थगित गर्ने ? यो गम्भीर आपत्तिजनक कुरा छ, उनले भनिन् ।