
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका नेता रामकुमार कामत मिटरब्याजसम्बन्धी ठगीको विवादमा मुछिएका छन् ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ठगीसम्बन्धी उजुरी दिइएको छ ।
मिटरब्याजबाट ठगीको उजुरी दिनेमा कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामत समेत छन् ।
०७४ सालमा आफूले साढे ६ कट्ठा जग्गा ६८ लाख रुपैयाँमा खरिद गर्दा तत्कालीन अध्यक्ष रामकुमारसँग २१ लाख रुपैयाँ ऋण लिएको जदुलालले बताएका छन् । ऋण दिनुअघि रामकुमारले उक्त जग्गा उनकी श्रीमती रुणादेवीका नाममा पास गर्न लगाएको उनले उल्लेख गरेका छन् ।
ऋणको ३५ लाख ५० हजार रुपैयाँ आफूले बुझाइसकेको उनले बताए । अझै २३ लाख मागिएको वडाध्यक्ष जदुलालको भनाइ छ ।
‘‘मैले पहिले नै रकम बुझाएको हुँ, तर उहाँले अझै माग्दै हुनुहुन्छ,’’ उनले भने, ‘‘हामीजस्ता परिस्थिति र कानुन बुझ्ने जनप्रतिनिधिलाई समेत दुःख दिन थालेपछि न्यायका लागि प्रशासन गुहारेको हुँ ।’’
भएभरको पैसा जग्गामा गएको र बैंकको ऋण समेत थपिँदा आफ्नो आर्थिक अवस्था डामाडोल भएको उनले बताए । “अहिले २३ लाख नदिएसम्म जग्गा फिर्ता दिन्नँ भन्दै हुनुहुन्छ,’’ उनले भने ।
यसबारे कांग्रेसका स्थानीय र जिल्लास्तरका नेतालाई जानकारी गराएको तर जग्गा फिर्ता दिलाइदिन पार्टी तहबाट कुनै पहल नभएको उनले गुनासो गरे ।
रामकुमारविरुद्ध अरू उजुरी समेत परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । उनीविरुद्ध कटहरी गाउँपालिकाको न्यायिक समितिमा पनि दुई उजुरी दिइएको छ । उच्च अदालत विराटनगरमा लिखत बदरसम्बन्धी उनीविरुद्धको मुद्दा विचाराधीन छ ।
रामकुमारपत्नी रुणादेवीले भने कटहरी–३ स्थित एउटा घर खाली गराइदिन निवेदन दिएकी छन् । उक्त घर जदुलालसँग जग्गा किनेर बसेका दुई परिवारले बनाएका थिए । यति बेला उनीहरू घरबार गुम्ने चिन्तामा छन् ।
अर्की ‘पीडित’ रामवती राजवंशीले पनि कामतविरुद्ध मिटरब्याजको आरोप लगाएकी छन् । आफूले आठ लाख रुपैयाँ ऋण लिँदा पाँच र तीन कठ्ठा गरी दुई स्थानको जग्गा अरू व्यक्तिका नाममा पास गराएको उनले बताइन् ।
ऋण र ब्याज तिरेपछि पनि जग्गा फिर्ता नभएको उनको भनाइ छ ।
‘‘अन्यायमा परेपछि प्रशासनमा उजुरी दिएकी छु, तर जग्गा कहिले फिर्ता पाइने हो ठेगान छैन,’’ उनले भनिन् । ती दुवै जग्गा पछि रामकुमारले आफ्नो नाममा नामसारी गराएको उनले सुनाइन् ।
रामकुमारले भने राजनीतिक प्रतिशोध साध्ने नियतले नियोजित तवरले षड्यन्त्र गरिएको आरोप लगाए । वडाध्यक्ष जदुलालले आफ्नो बदनाम गर्न खोजेको र ऋणसम्बन्धी कुनै ठोस प्रमाण उनीसँग नभएको उनले जिकिर गरे । “मेरो श्रीमतीको नाममा उसैले जग्गा किनाइदिएको हो । प्रमाण भए देखाउन परो, नत्र यसरी कसैलाई मानमर्दन गर्न पाइँदैन,” उनले भने ।