
काठमाडौं । इरानले रुससँगको एसयू–३५ विमान खरिद सम्झौतामा समस्या देखिएपछि चीनसँग दर्जनौँ चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको खुलेको छ ।
इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो ।
द मस्को टाइम्सको एक रिपोर्टअनुसार, इरान हाल चीनबाट ३६ वटा जे–१०सी विमान खरिद गर्न अन्तिम चरणको वार्तामा छ ।
यो कदम सन् २०२३ को सम्झौतापछि रुसबाट ५० वटा एसयू–३५ लडाकु विमान खरिद गर्ने इरानको योजना चारवटा विमानमात्रै प्राप्त भएपछि अवरुद्ध भएको सन्दर्भमा आएको छ ।
गत महिना इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणले इरानका धेरै स्थान, विशेष गरी आणविक पूर्वाधारमा हमला गरेपछि आधुनिक लडाकु विमानको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ ।
चिनियाँ चेङ्दु जे–१०सी विरुद्ध रुसी एसयू–३५
रिपोर्टहरूका अनुसार, इरान लामो समयदेखि जे–१० शृंखलामा रुचि राख्दै आएको छ । सन् २०१५ मा कम्तीमा १५० वटा विमान खरिद गर्ने प्रयास गरेको थियो ।
तर, मिलिटार्नीका अनुसार, भुक्तानी विवादका कारण त्यो सम्झौता असफल भएको थियो । चीनले विदेशी मुद्रामा भुक्तानी मागेको थियो भने कडा प्रतिबन्ध र नगद अभावका कारण इरानले तेल र ग्यासमार्फत भुक्तानी प्रस्ताव गरेको थियो ।
अहिले हटिसकेको संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले पनि वार्तालाई जटिल बनाएको थियो । चिनियाँ जे–१०सी, एक ४.५ पुस्ताको लडाकु विमान, जुन लामो दुरीको पीएल–१५ हवाइ मिसाइलसँग उपयुक्त छ । हाल पाकिस्तानी वायुसेनामा प्रयोगमा छ र रुसी एसयू–३५ को तुलनामा प्रभाकारी र सक्षम विकल्प मानिन्छ ।
साथै, यो एकल–इन्जिनको ४.५ पुस्ताको लडाकु विमान एसयू–३५ भन्दा करिब ४०–६० मिलियन डलर सस्तो छ ।
विवन्युजबाट ।