site stats
बाह्रखरी :: Baahrakhari
खेल
डियागो जोटाको संघर्ष, हार नमान्ने जीवनयात्रा

काठमाडौं । “हामी कहाँबाट आएका हौँ भन्ने होइन, हामी कहाँ जाँदै छौँ भन्ने महत्त्वपूर्ण हो ।”

यो भनाइ हो, डियागो जोटाको । पोर्चुगलका स्टार जोटाले सन् २०२० मा नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्ध दुई गोल गर्दै ३–० को जित दिलाएपछि यस्तो प्रतिक्रिया दिएका थिए । 

अहिले यही वाक्य पोर्चुगलको गोन्डोमार एससी एकेडेमीको प्रवेशद्वारमा लेखिएको छ । योसँगै क्लबको जर्सीमा जोटाको एउटा तस्बिर सजाइएको छ । गोन्डोमार त्यही क्लब हो, जहाँ जोटाले नौदेखि १७ वर्षको उमेरसम्म खेले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैको छेउमा अर्को तस्बिर छ, पोर्चुगल राष्ट्रिय टिमको जर्सीमा । यो एकेडेमीदेखि राष्ट्रिय टिमसम्म, यो जोटाले तय गरेको यात्रा थियो । 

सन् २०२२ देखि उक्त एकेडेमीको नाम परिवर्तन गरी 'डियोगो जोटा एकेडेमी' राखिएको छ ।

तर, दुर्भाग्यवश २८ वर्षीय डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा निधन भएको समाचारले फुटबल दुनियाँलाई स्तब्ध बनाएको छ ।

Zota-(4)-1751632227.png
सानैदेखि संघर्ष, तर कहिल्यै हार नमान्ने जीवनयात्रा

जोटाले आफ्नो बाल्यकाल पोर्चुगलको गोन्डोमारमा तेस्रो श्रेणीको टिमका लागि खेल्दै बिताए । त्यहाँ उनी प्रतिमहिना २० युरो तिरेर खेल्थे । सानो शारीरिक बनावटका कारण ठूला क्लबले उनलाई नजरअन्दाज गरे । तर, उनले हार मानेनन् ।

गोन्डोमारबाट पाकोस डे फेरेइरा, त्यसपछि पोर्टो, वुल्भ्स हुँदै लिभरपुल पुग्ने उनको यात्रा संघर्षपूर्ण भए पनि प्रेरणादायी रह्यो । उनले प्रमाणित गरे, सफलताको बाटो सिधा नभए पनि शिखरमा पुग्न सकिन्छ ।

जोटामा भएको प्रतिभाले क्लबलाई आकर्षित बनाउन थाल्यो । पाकोसमा चम्किन थालेपछि त उनका प्रशिक्षक जोर्ज सिमाओले उनलाई ‘क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारी’समेत भने । त्यो सुन्दा जोटा अचम्मित थिए । तर, उनले मनमनै संकल्प बुने, ‘प्रशिक्षकले विश्वास गरेका छन् भने म किन सक्दिनँ ?’

Zota-(3)-1751632227.png
उनी पोर्चुगलका थोरै त्यस्ता शीर्ष खेलाडीमा पर्छन्, जसले बेन्फिका, स्पोर्टिङ वा पोर्टोजस्ता ठूला एकेडेमीबाट प्रशिक्षण लिएका थिएनन् । पाकोस युथका पूर्वकोर्डिनेटर गिल्बर्टो आन्द्रादेका अनुसार, जोटालाई अरूभन्दा फरक बनाउने कुरा उनको मानसिकता थियो । जुनसुकै अवस्थालाई पार गर्न सक्ने क्षमताको कारण उनी विशेष थिए ।

विनम्रता, अनुशासन र दूरदृष्टि : जोटाको विशेषता
“उनले के गर्नु उचित हो भन्ने कुरा चाँडै बुझ्थे,” आन्द्रादेले सम्झिए, “उनी सधैँ अनुशासित, बुद्धिमान् र विनम्र थिए । जे सहयोग गर्न सक्थे, गर्थे ।”

एकदिन जोटाले आन्द्रादेसमक्ष आएर भनेका थिए, “म विदेशमा खेल्न सक्छु, त्यसैले अहिले नै विदेशी भाषा सिक्न चाहन्छु ।”

त्यतिबेला उनले अडियो कोर्स प्रयोग गरे । तर, पछि बुझे– भाषा सिक्न शिक्षकको आवश्यकता छ ।

यसरी उनको सोच र योजना भविष्यप्रति स्पष्ट थियो ।

सन् २०१४–१५ को सिजन सुरु हुनु अगाडि स्वास्थ्य परीक्षणका क्रममा उनको मुटुसम्बन्धी समस्या देखिएको थियो । जसका कारण उनले एक महिनासम्म प्रशिक्षण गर्न पाएनन् । तर, यो समस्यालाई उनले फुटबल करिअरको बाधक बन्न दिएनन् । त्यसबेला पनि उनी भन्थे, “घोडालाई अगाडि र रथलाई पछाडि राख्नुपर्छ ।”

पाकोसमा पहिलो टिमका लागि खेल्न थालिसक्दा पनि उनी अझै क्लबको होस्टलमा अन्य युवा खेलाडीहरूसँगै बस्थे । त्यो होस्टलमा बस्ने उनी सिनियर टिमका एकमात्र खेलाडी थिए ।

“उनी आफ्नो कोठाबाट बाहिर निस्किँदैनथे, केवल आफ्नो काममा केन्द्रित थिए,” आन्द्रादेले बताए ।

Zota-(2)-1751632225.png
सुरुआतभन्दा गन्तव्य महत्त्वपूर्ण
आफू कहाँ जाँदै छु भन्ने कुरा डियोगो जोटालाई सधैँ थाहा थियो । र, उनले जीवनभर यात्रा नै सबैभन्दा असल शिक्षक हो भन्ने देखाइरहे ।

उनको यात्रा एउटा सामान्य सहर गोन्डोमारबाट सुरु भयो । तर, उनले पोर्चुगलको सपनालाई साकार बनाए । आज, उनी सशरीर छैनन्, तर उनको प्रेरणा सधैँ रहि रहने छ ।

Zota-(1)-1751632225.png
डियोगो जोटा एक खेलाडी थिए । एक आदर्श जीवन थिए । र, उनको एक सन्देश निकै सुन्दर थियो, “हामी कहाँबाट आएका हौँ त्यो महत्त्वपूर्ण होइन, कहाँ जाँदै छौँ त्यो महत्त्वपूर्ण हो ।”

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्