
काठमाडौं । त्रिभुवन आर्मी क्लबले पुनरागमन जित निकाल्दै एन्फा यू–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ । आर्मीले शुक्रबार आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध ३–१ को पुनरागमन जित निकालेको हो ।
आर्मीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा हिमालयनलाई हराउन पहिलो हाफमा बराबरी र दोस्रो हाफमा दुई गोल गर्यो ।
खेलको १०औँ मिनेटमा हिमालयन शेर्पा क्लबका विशाल सुनुवारले टोलीलाई अग्रता दिलाए । तर, यो अग्रता टोलीले लामो समय जोगाउन सकेन ।
खेलको ३२औँ मिनेटमा आर्मीले सोभित वाइबाको गोलबाट खेलमा पुनरागमन गर्यो । ७९औँ मिनेटमा जोयल गुरुङले अग्रतालाई दोब्बर बनाए । यसको एक मिनेटपछि ८०औँ मिनेटमा श्रीजन मल्लले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलमा हिमालयन शेर्पा क्लबका मुख्य प्रशिक्षक प्रज्वल प्रतिप क्षेत्रीले रातो कार्ड दर्शन गरे । जितसँगै आर्मीले लिगमा तीन अंक जोडेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शुक्रबार (असार २०)देखि एन्फा यू–१६ युथ लिग २०२५ सुरु भएको छ । लिगमा ९१ खेल सञ्चालन हुनेछन् ।
लिगमा सहिद स्मारक ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करणबाट शीर्ष डिभिजनमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब टोखासहित शीर्ष डिभिजन लिगका १४ वटा क्लबको सहभागिता रहेको छ ।