
कर्णाली । भेरीगंगा नगरपालिका–८, कुइरेमा परेको चट्याङले एकजनाको मृत्यु भएको छ । कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा शुक्रबार दिउँसो ३ बजे एक्कासि चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, चट्याङ लागेर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापश्चात इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १०, अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँचजनाको प्रहरी टोली सो स्थानमा पुगेका थिए । चट्याङ लागेर सामान्य घाइते भएका सोही वडाका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीय सुनिता गिरीको मेहलकुना अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस