site stats
बाह्रखरी :: Baahrakhari
देश
चोभार गल्छी विवाद के हो ? कसरी फैलियो अफवाह ? (भिडियोसहित)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

काठमाडौं । काठमाडौंको चोभारस्थित राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सन् १९०३ मा निर्माण गरेको झोलुंगे पुलमा हाल दुईवटा ब्यानर झुन्डिएका छन् । 

एउटा ब्यानरमा लेखिएको छ, “खबरदार ! मञ्जुश्री गल्छी छुन पाउँदैन ।”

“खबरदार ! ऐतिहासिक तथा धार्मिक महत्त्व भएको नेपाल मण्डल सभ्यताको अस्तित्व बोकेको न्हुछिकाप मञ्जुश्री गल्छी कुनै बहानामा एक मुठी बालुवा पनि छुन पाउँदैन होसियार,” दोस्रो ब्यानरमा लेखिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी ब्यानर कीर्तिपुर नगरपालिका–६, चोभार गल्छीस्थित झोलुंगे पुलमा झुन्ड्याइएको केही दिन भयो । विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा सरकारले चोभार गल्छी फोड्न लागेको सूचनाहरू प्रवाह भएपछि स्थानीय र अभियन्ताहरूले ती दुई ब्यानर चोभारको झोलुंगे पुलमा लगेर झुन्ड्याएका थिए ।

भिडियो हेर्नोस्–  

२०८२ जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले काठमाडौंको चोभार गल्छीसँग सम्बन्धित एउटा निर्णय गरेको थियो ।

निर्णयमा भनिएको थियो, “अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकोले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकतानुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने ।”  

चोभार गल्छीमा नदी प्रवाह सुचारु गर्ने सम्बन्धमा लगिएको प्रस्तावमाथि छलफल गरेपछि उक्त निर्णय लिइएको थियो । यो निर्णय सार्वजनिक भएपछि विस्तारै अफवाह फैलिन सुरु गरेको थियो । त्यसपछि ‘खबरदार’ र ‘होसियार’ लेखिएका दुई ब्यानर चोभारको झोलुंगे पुलमा झुन्ड्याइएको थियो ।

Chobar-(3)-1751628062.jpg
कसरी उठ्यो चोभार गल्छीको विषय ?
२०८१ असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति गरेको थियो । २०८१ सालमा बाढी तथा पहिरोका कारण मात्र काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार, उक्त वर्ष काठमाडौंमा २०, ललितपुरमा ४६ र भक्तपुरमा दुईजनाको मृत्यु भएको थियो । 

गत वर्ष ठूलो वर्षापछि आएको बाढी र पहिरोले काठमाडौं उपत्यकामा ठूलो क्षति गरेपछि सामाजिक सञ्जालमा एउटा बहस चलेको थियो– केही गरी चोभार गल्छी थुनियो भने काठमाडौं उपत्यका के हुन्छ ? पानी कसरी बाहिर पठाउने ? यो बहस ‘आरिघोप्टे’ वर्षा भइन्जेल चल्यो, वर्षा रोकिएसँगै सेलायो । 

काठमाडौं उपत्यकाका रुद्रमती, मनमती, बल्खुखोला, नख्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा र विष्णुमती लगायतका नदीहरू वाग्मती नदीको सहायक नदीहरू हुन् । 

गत वर्ष काठमाडौं उपत्यका भई बहने नदीहरूमा बाढी आउँदा यहाँका थुप्रै बस्ती डुबानमा परेका थिए । नख्खु खोलामा आएको बाढीले पनि चोभार गल्छीनजिक वाग्मती नदीमा मिसिनुअघि ठूलो जनधनको क्षति गरेको थियो । 

Chobar-(7)-1751628064.jpg
गत वर्ष असोजमा परेको अविरल वर्षापछि चोभार गल्छीनजिक दायाँ–बायाँबाट स–साना पहिरो वाग्मती नदीमा खसेका थिए । 
चोभार गल्छी जहाँबाट वाग्मती नदी बहन्छ, त्यसको बायाँ ललितपुर महानगरपालिका–१८ र दायाँ कीर्तिपुर नगरपालिका–६ पर्छ । वाग्मतीमा आएको बाढीबाट प्रभावित स्थानीयहरू आफ्ना वडाध्यक्षलाई भेटी चोभार गल्छीमा रहेको अवरोध हटाउन अनुरोध गरेका थिए । त्यसपछि जनप्रतिनिधि सहरी विकास मन्त्रालयअन्तर्गतको वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेका थिए ।

“सुरुमा ललितपुर महानगरपालिका–१८ को वडाध्यक्ष चोभार गल्छी सफाइको कुरा लिएर आउनु भएको थियो । हामीले चोभारमा वाग्मती नदी ललितपुर महानगर–१८ र कीर्तिपुर नगरपालिका–६ भई बहने हुँदा दुवै स्थानीय तहका जनप्रतिनिधि आवश्यक पर्ने भन्यौँ । त्यसपछि दुवै वडाका वडाध्यक्ष आउनुभएको थियो,” वाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक उद्धव नेपालले बाह्रखरीसँग भने । 

कीर्तिपुर नगरपालिका–६ का वडाध्यक्ष खीरमान सिंह बस्नेतले थप स्पष्ट पार्दै बाह्रखरीसँग भने, “सुरुमा स्थानीयले वाग्मती नदीमा पहिरो खस्दा जमेको माटो लगायतको गेग्रान हटाउन अनुरोध गर्नुभयो । त्यसपछि वडाले वाग्मती सभ्यता एकीकृत विकास समितिलाई सोहीअनुसार सिफारिस गरेको हो ।” २०८१ फागुनमा उक्त सिफारिस गरिएको थियो ।

वाग्मती सभ्यता एकीकृत विकास समितिले के गर्‍यो ? 
सरोकारवाला दुई स्थानीय तहका जनप्रतिनिधिले चोभार गल्छीस्थित वाग्मती रहेको अवरोध हटाउन अनुरोध गरेपछि वाग्मती सभ्यता एकीकृत विकास समितिले अध्ययन सुरु गरेको थियो । 

स्थलगत अवलोकन गर्दा चोभार गल्छी अगाडि जोखिम देखिएपछि सहरी विकास मन्त्रालयले यससम्बन्धी जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई गराएको थियो । 

प्राधिकरणले यो कुरालाई प्रस्तावको रूपमा २०८२ जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकमा लगेको थियो । बैठकले उक्त क्षेत्रमा आगामी दिनमा डुबान हुन नदिन नेपाली सेनाको सहयोग लिई अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । 

Chobar-(2)-1751628062.jpg

त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको नेतृत्वमा एक टोली २०८२ जेठ २५ गते चोभार गल्छी र वरपरको क्षेत्रको स्थलगत अवलोकन गर्न गएको थियो । उक्त टोलीमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक नेपाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, काठमाडौं र ललितपुरका प्रहरी, नेपाली सेनाका प्रतिनिधि, खानी तथा भूगर्भ विभागका प्रतिनिधिलगायत सहभागी थिए । 

स्थलगत अवलोकनमा गएको टोलीले चोभार गल्छीभन्दा माथिपट्टी वाग्मती नदी बहने ठाउँमा पाँचवटा ठूला ढुंगाहरू देखे । ती ढुंगाले वाग्मतीको बहाव रोक्नसक्ने आकलन उनीहरूले गरे । ती ढुंगामा केही वस्तु अड्किए त्यसले वाग्मती थुनिनसक्ने खतरा उनीहरूले देखे ।  

“स्थलगत अवलोकनपछि हामीले दुई कुरा गर्नुपर्ने सुझायौँ । पहिलो, चोभार गल्छीभन्दा २० मिटरमाथि पाँचवटा ठूला ढुंगा वाग्मती नदीमा छन् । ती ढुंगाले पानीको बहाव रोक्न सक्ने हुँदा हटाउनु पर्ने,” समितिका निर्देशक नेपालले भने, “दोस्रो, पहिरो खस्दा जम्मा भएको माटो र जमेको गेग्रान हटाउनुपर्ने ।” 

ती दुई कुरा तत्काल गर्नुपर्ने सुझाव समितिको थियो । केही समयपछि पहिरो झर्ने ठाउँमा तार जाली राखेर पहिरोको व्यवस्थापन गर्न सकिने सुझाव पनि समितिले दिएको थियो । “हामीले अनुरोध गरेको चोभार गल्छी अगाडि वाग्मती नदीमा रहेका ठूला ढुंगा के गर्ने भन्ने एउटा हो । त्यसपछि चोभार गल्छी अगाडि दुवैतर्फबाट वाग्मती नदीमा पहिरोसँगै ढुंगाहरू खसेको छ, जसले वाग्मती नदीलाई साँघुरो बनाएको पनि छ । त्यसलाई कसरी हटाउने भन्ने हो,” समितिका निर्देशक नेपालले भने । 

Chobar-(4)-1751628063.jpg
अफवाह कसरी फैलियो ? 
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले आगामी दिनमा डुबान हुन नदिन नेपाली सेनाको सहयोग लिई अवरोध हटाउन निर्देशन दिएपछि विस्तारै अफवाह फैलिन सुरु गरेको थियो ।

वाग्मती सभ्यता एकीकृत विकास समितिले नेपाली सेनालाई पत्र पठाउँदै कार्य अघि बढाउन अनुरोध गरेपछि अफवाह फैलिने गतिले तीव्रता पायो । 

‘चोभार गल्छीमा बम ब्लास्ट गरिने’, ‘चोभार गल्छी फोडेर ठूलो बनाइने,’ ‘सरकारले सुन्दर चोभार मास्ने,’ ‘चोभार गल्छीको ढुंगा हटाउन सुरु’, ‘ऐतिहासिक चोभार गल्छी काटिएला त ?,’ ‘चोभार गल्छी चलाए विद्रोह,’ ‘चोभार गल्छी चौडा पार्ने कुराले खैलाबैला’ सम्मका सूचनाहरू सामाजिक सञ्जालमा छ्यापछ्यापी भए । 

अनेकथरी सूचना सामाजिक सञ्जालमा आउन थालेपछि स्थानीय तर्सिए । अभियन्ताहरू पनि तात्न थाले । सरकारले साँच्चै चोभार गल्छी फोडेर चौडा पार्न लागेको भ्रम पर्न थाल्यो । यसलाई केहीले राजनीतिक रङ दिने पनि प्रयास गरे ।

“उदेश्य सफाइ गर्ने हो, कुरा ट्वीस्ट भयो । अफवाह फैलियो । यसमा राजनीतिकरण पनि भयो कि भन्ने स्थानीयमा परेको छ,” कीर्तिपुर नगरपालिका वडा नं.६ का वडाध्यक्ष खीरमान सिंह बस्नेतले भने, “फोड्ने, काट्ने केही होइन । सफाइ गर्ने भन्ने हो ।”

चोभार गल्छीलाई लिएर अफवाह यति फैलियो कि सार्वजनिक सुनुवाइ नै गर्नुपर्ने स्थिति बन्यो । त्यसपछि कीर्तिपुर नगरपालिका वडा नं. ६ ले आफ्नै कार्यालय परिसरमा यही असार १७ गते भूगर्भविद्, वातावरण विज्ञ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, वुद्धिजीवी र स्थानीयलाई बोलाएर सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । 

“स्थायी प्रकृतिको ढुंगा चलाउन पाइँदैन र दिँदैनौँ । थुप्रिएको माटो र ग्रेग्रान हटाउन सकिन्छ,” सार्वजनिक सुनुवाइको निष्कर्ष थियो । 

Chovar-galchi13-1751627786.jpg
विवादका कारण पछि हट्यो सेना 
वाग्मती सभ्यता एकीकृत विकास समितिको अनुरोधअनुसार चोभार गल्छीस्थित वाग्मती नदीको सफाइ योजना नेपाली सेनाले बनाएको थियो । तर, अनेक अफवाह फैलिएसँगै विवाद बढेपछि नेपाली सेना पछि हटेको छ । सेनाले तत्काल सफाइ योजना अघि नबढाउने भएको छ । 

“विवाद निस्केको छ, पहिला यो समाधान होस् । के गर्ने तथा के नगर्ने भन्ने स्पष्ट होस् । विवाद सुल्झाउनुस्, त्यसपछि अघि बढौँला,” सेनाको भनाइ उद्धृत गर्दै समितिका निर्देशक नेपालले भने ।

सेनाले तत्काल काम सुरु नगर्ने बताएपछि समितिले यसबारे ललितपुर महानगरपालिका–१८ र कीर्तिपुर नगरपालिका–६ लाई असार १५ गते पत्र पठाएर जानकारी दिएको छ । 

पत्रमा ‘दुविधा भयो, भ्रम फैलियो । स्थानीयका माग के हो स्पष्ट पार्न’ भनिएको छ । “गत वर्ष ग्यास बुलेट बगायो । उक्त ग्यास बुलेट बालकुमारी पुलमा अड्कियो । हामीले चोभार गल्छीभन्दा २० मिटर अघि रहेका पाँचवटा ढुंगा हटाउनुपर्छ त्यसै भनेका होइनौँ । बालकुमारी पुलमा जस्तै केही वस्तु गएर ती ढुंगामा गएर अड्कियो भने अवस्था कस्तो होला ?,” समितिका निर्देशक नेपालले भने । तर, अन्तिम निर्णय स्थानीयको भावनाअनुसार हुने उनले बताए । 

सहरी विकास मन्त्रालय के भन्छ ? 
विवाद बढ्दै गएपछि कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलसहितको सरोकारवाला टोली असार १९ गते सहरी विकास मन्त्रालय पुगेको थियो । त्यहाँ उनीहरूले सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी आफ्ना कुरा राखेका थिए । “त्यहाँ (चोभार गल्छी) ब्लास्ट गर्न लागेको छ, त्यहाँ पावर युज गर्न लागेको छ भन्ने कुरा होइन,” सहरी विकासमन्त्री सिंहले भने, “वाग्मती सभ्यतालाई ख्यालमा राखेर, त्यसको मूल्य मान्यतालाई आधार मानेर हामीले काम गर्ने हो । प्रकृतिसँग मिलेर अघि बढ्नुपर्छ ।” 

असार १९ गते नै सहरी विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विषयलाई थप स्पष्ट पार्ने काम गर्‍यो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय कार्यान्वयन सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल तथा राजनैतिक दलहरूमा फरक फरक विचार प्रेषित भइ जनमानसमा दुविधा पर्न गएको विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।

काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभारमा रहेको गल्छीको धार्मिक सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको उदेश्य चोभार गल्छी वरपरको क्षेत्रमा हुनसक्ने डुबान न्यूनीकरणको लागि चोभार गल्छीभन्दामाथि विगतमा बगाएर ल्याएको फोहोरहरू हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथामको कार्य गर्न तथा यसको दीर्घकालीन समाधानको लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना तयार गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । 

“गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ,” सहरी विकास मन्त्रालयले भनेको छ । 

स्थानीय के चाहन्छन् ? 
स्थानीयहरू के गर्न हुने वा के गर्न नहुने भन्नेमा स्पष्ट छन् । अफवाहका कारण हाल समस्या आएको बुझाइ कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको छ । “गल्छी काट्न लागियो भनेर सामाजिक सञ्जालमा अफवाह फैलियो,” उनले भने । 

नगरपालिकाले चोभार गल्छीमा के गर्ने वा नगर्ने भनेर असार १९ गते वाग्मती सभ्यता एकीकृत विकास समितिलाई पत्र पठाइसकेको छ । “वाग्मती नदीमा रहेका कुनै ढुंगा चलाउन पाइँदैन । जमेको माटो तथा गेग्रान हटाउन सकिन्छ,” पत्रमा लेखिएका कुरा उद्धृत गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख डंगोलले भने । 

विवाद बढेपछि आफूहरूले चोभार गल्छी गई स्थलगत अवलोकन गरेको उनले बताए । “जुन पाँचवटा ढुंगालाई समितिले समस्या देखेको छ, हामीले हेर्दा त्यो लागेन । ती ढुंगाले पानीको बहाव रोकेको छैन, समस्या गरेको छैन । ती कतैबाट बगाएर ल्याएका ढुंगा होइनन्,” कीर्तिपुर नगरपालिकाका प्रमुख डंगोलले भने । दायाँ बायाँबाट वाग्मतीमा झरेको पहिरो भने हटाउनुपर्ने उनले बताए ।

Chobar-(6)-1751628065.jpg

Chobar-(8)-1751628064.jpg

Chobar-(5)-1751628063.jpg

Chobar-(1)-1751628065.jpg

 

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्