
काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलिपेप्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । यो सम्झौतासँगै एनआईसी एसिया बैंकले उपलब्ध गराएको नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।
सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलिपेप्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
अलिपेप्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध रहेका छन् । सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरूले अलिपेप्लस नेटवर्कमा जोडिएका मुलुकहरूका पर्यटकहरूले नेपालपे क्यूआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।
बैंक र एनसीएचएलबीच भएको सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत प्रवर्द्धन गरी नेपालमा आउने पर्यटकहरूका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको बताइएको छ ।