site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले भन्यो– युद्धमा चीनले पाकिस्तानलाई ‘लाइभ इनपुट्स’ दियो

काठमाडौं । चीनले पाकिस्तानलाई भारतका प्रमुख स्थानबारे ‘लाइभ इनपुट्स’ प्रदान गरेको आरोप लगाइएको छ । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले शुक्रबार एक कार्यक्रममा यसै वर्ष मेमा सैन्य द्वन्द्वका क्रममा चीनले पाकिस्तानलाई सघाएको बताएका हुन् ।

उनले भारतको हवाई रक्षा प्रणाली तत्काल सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका समाचार संस्था रोयटर्सले जनाएको छ । आणविक हतियारसम्पन्न दुई छिमेकी देशले चार दिनसम्म चलेको दशकौँयताकै सबैभन्दा खराब द्वन्द्वका क्रममा मिसाइल, ड्रोन र गोलाबारुद प्रयोग गरेका थिए ।

त्यो द्वन्द्व अप्रिलमा भारतीय कश्मीरमा हिन्दु पर्यटकमाथि गरिएको आक्रमणपछि सुरु भएको थियो । पर्यटकमाथि आक्रमण इस्लामाबादको योजनामा गरिएको नयाँ दिल्लीले आरोप लगाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त आतंंककारी आक्रमणमा २६ पर्यटकको हत्या गरिएको थियो । त्यसपछि दुई देशबीच द्वन्द्व बढेको थियो । यद्यपि, पाकिस्तानले अप्रिलको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

द्वन्द्वको समयमा भारतले दुई विरोधीसँग लड्नुपरेको सिंहले टिप्पणी गरे । त्यसमा देखिने अनुहार पाकिस्तान भए पनि उसलाई चीनले सबै सम्भव सहयोग प्रदान गरेको उनले बताए । तर, उनले चीनबाट प्राप्त लाइभ इनपुट्सबारे भारतलाई कसरी थाहा भयो भन्ने विस्तृत जानकारी दिएनन् ।

यसबारेमा रोयटर्सले प्रतिक्रिया माग्दा चिनियाँ विदेश र रक्षा मन्त्रालय तथा पाकिस्तान सेनाको जनसम्पर्क शाखाबाट जवाफ दिइएन ।

भारत र चीनबीच सन् २०२० मा सीमामा झडप भएपछि सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसले चार वर्षसम्म सैन्य गतिरोध निम्त्याएको थियो । तर, अक्टोबरमा दुवै देशबीच त्यहाँबाट सैनिक फिर्ता गर्ने सम्झौतापछि तनाव कम हुन थालेको छ ।

भारतले यसअघि पाकिस्तान चीनसँग नजिकको सम्बन्धमा रहे पनि द्वन्द्वको समयमा बेइजिङबाट कुनै प्रत्यक्ष सहयोगको संकेत नभएको जनाएको थियो ।

चीनले स्याटेलाइट तस्बिर वा अरू गुप्तचर जानकारी प्रदान गरेको सम्भावनाका विषयमा भारतका रक्षा प्रमुखले ती व्यावसायिक रूपमा उपलब्ध रहेको बताएका थिए । र, ती तस्बिर चीन वा अन्यत्रबाट प्राप्त भएको हुन सक्ने उनको भनाइ थियो ।

पाकिस्तानी अधिकारीले यसअघि द्वन्द्वमा चीनबाट सक्रिय सहयोग प्राप्त गरेको आरोप खारेज गरेका थिए । तर, बेइजिङले स्याटेलाइट र राडार सहायता प्रदान गरेको विषयमा उनीहरूले विशेष रूपमा टिप्पणी गरेका छैनन् ।

बेइजिङले भारत–पाकिस्तानबीच मेमा भएको युद्धविरामको स्वागत गरेको थियो । युद्धविरामको केही दिनपछि चिनियाँ विदेशमन्त्रीले पाकिस्तानी समकक्षीसँग भेट्दा उक्त देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०१३ देखि चीनले पाकिस्तानको कमजोर अर्थतन्त्रमा लगानी र वित्तीय सहयोगमार्फत सहायता गर्दै आएको जनाइएको छ ।

भारतीय सेनाका उपप्रमुख सिंहले चीनबाहेक टर्कीले पनि द्वन्द्वको समयमा पाकिस्तानलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको बताए । त्यो सहयोगमा बायार्कटार र धेरै अरू ड्रोनहरू उपलब्ध गराएको र प्रशिक्षित व्यक्तिहरू प्रदान गरेको उनको भनाइ छ ।

टर्की र पाकिस्तानबीच बलियो सम्बन्ध छ । द्वन्द्वको समयमा टर्कीले पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो । त्योसँगै भारतीयलाई टर्कीको कफीदेखि त्यहाँ छुट्टी मनाउनसम्म बहिष्कारका निम्ति प्रेरित गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्