
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा संशोधनकर्ताको तर्फबाट कुरा राख्दै कार्कीले यस्तो बताएकी हुन् ।
“बैंकर र व्यवसायी छुट्याउनु राम्रो हो । यो स्वागतयोग्य कुरा हो जस्तो लाग्छ,” कार्कीले भनिन्, “डेभलप कन्ट्रीमा हेर्दा एउटा कुरालाई मात्र हेर्न हुँदैन, मान्छेको नियत, आर्थिक अवस्था र अभ्यास हेर्नुपर्छ । बैंकर र व्यवसायी छुट्याएन भने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) आउनसक्छ ।”
कुनै पनि व्यक्ति वा समूहले एक प्रतिशतभन्दा बढी सेयर कायम गरेको खण्डमा त्यो संस्था वा वित्तीय प्रणालीबाट कर्जा लिन निषेध हुने कुरा स्वागतयोग्य रहेको उनले बताइन् ।
बैंकिङ प्राविधिक र जटिल विषय भएकाले सञ्चालक हुन स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था स्वागतयोग्य रहेको उनको भनाइ छ ।
दफा १८ को उपदफा १ (च) मा बैंकसँग सम्बन्ध भएका व्यक्तिलाई थोरै कर्जा दिन मिल्ने भनिएको र दफा ५२ को उपदफा १ ले त्यस्ता व्यक्तिलाई कर्जा दिन नपाइने भनेकोले यी दुई कुरा बाँझिएको पनि उनले बताइन् । यी दुई कानुनी व्यवस्था विरोधाभाष भएको भन्दै कार्कीले कानुन अलमलमा पर्ने गरी लेख्न नहुने पनि बताइन् । यदि दुईवटै दफालाई एकसाथ मिलाएर स्पष्ट र समान सन्देश दिने गरी राख्नुपर्ने उनले बताइन् ।
उनल उलेख्य शब्दलाई स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने बताइन् । यो व्यवस्थाको कसैले पनि दुरूपयोग गर्न नसक्नेगरी परिभाषित गर्नुपर्ने कार्कीको भनाइ छ । “विधेयकले बैंकसँग नजिक भएका व्यक्तिलाई कर्जा दिन नपाइने व्यवस्था गरेको ठीक छ,” उनले भनिन्, “तर, उलेख्य स्वामित्व शब्द अस्पष्ट छ ।”
त्यसैगरी बैंकको अनुगमन आवश्यकताअुनसार त्रैमासिक रूपमा गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताइन् ।