
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोसी मरिन डाइभर्सन आयोजनाको ढिलाइमा ठेकेदारसँग कार्यतालिका माग्ने बताएका छन् । आइतबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोसी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा बढाइने बताए ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको र बाँकी कामका लागि कार्यतालिका मागिने बताए ।
“गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्याएको इन्स्योरेन्स नपाएको कारण आयोजना केही ढिलाइ भएको हो,” उनले भने, “हामीले ‘वर्क सेड्युअल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ ।”
मन्त्री खड्काले समितिमा छलफलमा रहेका विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरे ।
“कुनै एक विधेयकलाई अगाडि बढाएर अर्को विधेयक रोक्नुपर्छ भन्ने छैन, दुवै विधेयकलाई टुंग्याऊँ भन्ने हो,” उनले भने ।
उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन समिति बनाएर छानबिन गरिरहेको जनाए । प्रयोग गरेको बिजुलीको बिल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था परिमार्जन भइसकेकाले भ्रममा नपर्न आग्रह गरे ।