site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सेन्ट जर्जको पोल्टामा नवाज कपको उपाधि

सिड्नी । सिड्नीको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा चिनिएको नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज क्लबले हात पारेको छ । फाइनलमा सशक्त मानिएको बेनी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै सेन्ट जर्जले उपाधि हात पारेको हो ।

दुई महिना लामो चलेको प्रतियोगिताको फाइनल सोचे अनुरुप भने हुन सकेन । निकै प्रतिस्पर्धात्मक हुने विश्वास गरिए पनि सेन्ट जर्जले प्रारम्भदेखिनै खेलमा पकड जमाउँदै सहजै उपाधि चुमेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय टोलीका केही अनुहारसहित मैदानमा उत्रेका दुवै टोली सुरुआतमा भने एकअर्कामा हाबी देखिएता पनि कमजोर रक्षापंक्ति र आपसी तालमेलको अभावमा बेनी उपाधि रक्षामा फितलो सावित भएको देखिन्थ्यो ।

सेन्ट जर्जका तर्फबाट असिम थापाले दुई गोल, रुपबहादुर लामाले एक गोल र सुदीप श्रेष्ठ (डार्बिन)ले एक गोल गर्दै खेल एकपक्षीय पारेका थिए ।

यसअघिका प्रतियोगितामा हाबी रहँदै आएको बेनी फुटबल क्लब आपसी तालमेल र कमजोर रक्षापंक्तिका कारण दबाबमा परेको थियो । यसैको फाइदा उठाउँदै सेन्ट जर्जले एकपछि अर्को गोल गर्दै खेलको नतिजा सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा दी राइजिङ गोर्खाले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगितामा रुपबहादुर लामाले सर्वाधिक आठ गोल गरेर सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए भने सेन्ट जर्जकै निश्चल ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भए ।

यस्तै, प्रतियोगिताको भेट्रानतर्फ माकार्थरले पारापार्कलाई पराजित गर्दै उमेर समूहको उपाधि जितेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर जुमानु राईसहित मैदानमा उत्रेको पारापार्कले खेलमा कुनै चमत्कार देखाउन सकेन । फलस्वरुप उनीहरू उपविजेतामै सीमित बनेका थिए ।

प्रतियोगिताको समाप्तिपछि नेपालबाट पारिवारिक भेटघाटमा अस्ट्रेलिया आइपुगेका दुई नेपाली फुटबल अभियन्ताहरू दिलीप राई र वसन्त अर्याललाई नवाजका तर्फबाट अध्यक्ष चिरन तिवारीले सम्मान गरेका थिए ।

कार्यक्रमको समाप्तिपछि बोल्दै एनएसडब्लू राज्यका वाणिज्यदूत सन्जीव शर्माले खेलकुद प्रतिस्पर्धा मात्र नभइ आपसी भाइचाराको पनि माध्यम भएकोले यसले अनुशासनको दायरामा राख्ने हुँदा कुलतबाट टाढा राख्न समेत मद्दत पुग्ने विचार व्यक्त गरे । शर्माले जुवा, लागु पदार्थजस्ता कुलतमा फसेर बिग्रनबाट बच्न खेलुकद उपयुक्त माध्यम समेत रहेको हुँंदा यस्ता प्रतिोगिताहरू महत्त्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्