
काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले २०८१ सालको ‘छिन्नलता गीत पुरस्कार’ गीतकार राजेन्द्र रिजाल, संगीतकार आभास (अच्युतप्रसाद फुयाँल) र गायक गायिका रामभक्त जोजिजु र इतु जोजिजुलाई प्रदान गरेको छ ।
त्यस्तै, गुठीले छिन्नलता गीत युवा प्रतिभा पुरस्कार गायक एसडी योगीलाई प्रदान गरेको छ ।
पुरस्कृतहरूलाई पुरस्कारकासाथ नगद राशि एक–एक लाख प्रदान गरियो भने युवा प्रतिभालाई नगद राशि ५० हजार रुपैयाँ प्रदान गरियो । गायनतर्फको पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्दै गीतकार छिन्नलता (रमोलादेवी शाह)ले गीत संगीतका क्षेत्रमा स्थापना गरेको गुठी र पुरस्कारको विशिष्ट महत्त्व रहेको बताए ।
उनले गुठीले नेपाली कला गीत संगीतका क्षेत्रमा दिएको योगदान प्रशंसनीय र ऐतिहासिक भएको उल्लेख गर्दै गीतकार छिन्नलताको कर्मशीलताको प्रशंसा गरे ।
गीतकार छिन्नलताको १०३औँ जन्मजयन्तीको अवसर पारेर सम्पन्न कार्यक्रममा अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले गुठी नेपाली गीत संगीतको आराधनामा समर्पित रहेको बताए ।
गुठीका सचिव दिनेश अधिकारीले पहिले गीत संगीतका एक जनालाई मात्रै पुरस्कृत गरिँदै आएकोमा २०४६ सालदेखि गीत रचना, संगीत र गायनमा सक्रिय सर्जक गरी तीनैजनालाई पुरस्कृत गरिँदै आएको उल्लेख गरे ।
सपछि गुठीले युवा प्रतिभाहरूलाई पनि पुरस्कृत गर्ने मनसायले युवा प्रतिभा पुरस्कारको स्थापना गरेको उनले बताए ।
पुरस्कृत सर्जकहरूको तर्फबाट बोल्दै गीतकार राजेन्द्र रिजालले छिन्नलता पुरस्कार प्राप्त गर्दा आफूहरू गौरवान्वित भएको बताए । उनले आफ्नो गीति यात्राका बारेमा जानकारी गराउँदै केही गीतको चर्चा गरे ।
गुठीले हालसम्म १९० जनालाई पुरस्कृत गरिसकेको छ । यसअघि छिन्नलता गीत पुरस्कारबाट किरण खरेल, रत्नशमशेर थापा, रत्नदास प्रकाश, नारायणगोपाल, शिवशंकर मानन्धर, नातिकाजी, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, अरुणा लामा, गोपाल योञ्जन, यादव खरेल, चेतन कार्कीलगायत पुरस्कृत भइसकेका छन् ।