
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीमा हत्या गरिएका चारजनाको शव ‘फेरेन्सिक’ परीक्षण गर्न आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार (असार २२) जिल्ला अस्पताल ल्याइएको शव फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।
भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीयम श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए । आरोपित पनि घाइते छन् । उनको पनि उपचार धरानमा भइरहेको छ ।
उक्त परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका निम्ति धरान पठाउन रामप्रसादराई गाउँपालिकाका अध्यक्षको सचिवालयले संकलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले संकलित एक लाख १४ हजार ८७१ रुपैयाँ रकम पीडित आफन्तलाई हस्तान्तरण गरेका हुन् । पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाका तर्फबाट पनि सहयोग गरिने उनको भनाइ छ ।
“मृतक परिवारको आर्थिक अवस्था कमजोर छ,” अध्यक्ष राईले भने, “सचिवालयबाट संकलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ ।”
शनिबार (असार २१) राति बेलबहादुर र मञ्जुका ज्वाइँले एकै परिवारका चारजनाको सामूहिक हत्या गरेका थिए । रासस