site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । रुपन्देहीमा केहीदिन अघि हत्या गरिएका काठ व्यवसायी वसन्त पौडेल र हत्याको जिम्मेवारी लिएका मनोज पुनबीच व्यापारिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अघिल्लो साता रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी वसन्त पौडेलको हत्या गरेको थियो । त्यसलगत्तै विदेशमा रहेका भनिएका मनोज पुनले घटनाको जिम्मेवारी लिँदै केही सञ्चारकर्मीलाई टेलिफोनसमेत गरेका थिए ।

पौडेल हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार हत्याको जिम्मा लिएको भनिएका पुन र पौडेलबीच केही समयअघिसम्म व्यापारिक सम्बन्ध रहेको भेटिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अघिल्लो वर्ष हत्या गरिएका एमालेको युवा संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि फरार रहेका पुनसँग पौडेलको नियमित सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ ।

“तिवारी हत्यापछि पुन र पौडेलबीच नियमित कुरा भएको तथ्य फेला परेको छ,” अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारी भन्छन्, “उनीहरुबीच व्यापारिक सम्बन्ध रहेको पनि भेटिएको छ । धेरैपल्ट फोनमा कुराकानी भएको पाइएको छ । आफूसँग भएको कुराकानी र सम्बन्ध बाहिर आउन सक्ने आशंकापछि पुनले हत्या गरेको हुन सक्छ ।”

अनुसन्धानमा संलग्न ती अधिकारीले पौडेलले नै प्रहरीलाई सूचना दिएको आशंकापछि उनीहरुबीच खटपट परेको पनि भेटिएको बताए ।

पुन पीडित उजुरी गर्न पनि डराउँछन् !
 

गुन्डा नाइके मनोज पुनले रुपन्देहीका कैयौं व्यवसायीलाई जबर्जस्ती धम्क्याउने गरेको पनि प्रहरी अनुसन्धानपछि मात्रै खुलेको छ । पुनका धम्कीका कारण व्यवसायीमा समेत त्रास पैदा भएको छ । यीमध्ये केहीले प्रहरीमा उजुरी गर्नसमेत डराएको पाइएको प्रहरीले जानकारी दियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा २० जना व्यापारीसँग पुनले रकम मागेको मौखिक उजुरी परेको छ ।  पुनले व्यापारीसँग ५ देखि २५ लाख रुपैयाँसम्म माग्ने गरेको प्रहरीमा परेको उजुरीबाट खुलेको छ । 

नाम सार्वजनिक नगर्ने सर्तमा रुपन्देहीका एक होटल व्यवसायीले भने, “मलाई यति पैसा चाहियो भन्दै फोन आउँछ, फोनमा घर परिवार, व्यापार व्यवसायसहित दिनभर को कहाँ रहन्छ भन्नेसम्म फोनबाटै धम्की दिने गरेको छ ।”

पुन गतवर्ष पुसमा युवासंघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि प्रहरीको खोजी सूचीमा छन् ।

त्यस्तै गत असोज २३ गते काठमाडौंको बानेश्वरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा समेत संलग्न रहेको आरोप छ । 

“पुनको धम्कीका कारण पीडितहरु खुलेर प्रहरीमा उजुरी दिन पनि डराउने भेटिएको छ,” ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले भने, “हामीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएका छौं । केही व्यापारीले हामीलाई मौखिक रुपमा उजुरी गरेका छन् ।”
 

प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १०:०८
प्रतिक्रिया दिनुहोस्