site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । राजधानी उपत्यकामा चोरी नभएको दिन विरलै हुन्छ । चोरीको उजुरी गर्न प्रहरीकहाँ दैनिक नै मानिसहरुको भीड लाग्छ । महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार गएको साउनयता उपत्यकामा ७६ वटा ठूला चोरीका घटना भएका छन् । सानातिना चोरीका घटनाको त प्रहरीले लेखाजोखा नै राखेको छैन । कतिपय सामान्य चोरीका त उजुरी आउँदैनन् पनि । 

चोरीको घटना र प्रकृति हेर्दा सरकारी कार्यालय खुल्ने समय अर्थात् बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबैभन्दा धेरै चोरी हुने गरेको देखिएको छ । त्यसैगरी बिहान ४ देखि १० बजेसम्म पनि निकै चोरी हुने गरेको छ । बेलुका ५ बजेपछि सबैभन्दा कम चोरीका घटना हुने महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी बताउँछन् । 

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा सक्रिय रुपमा रहेका चोरको संख्या ३ सयको हाराहारीमा छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, मकवानपुर, सिन्धुलीलगायत जिल्लाबाट आएर राजधानीमा चोरी कर्ममा लाग्नेहरु धेरै पाइएको प्रहरी अधिकारी बताउँछन् । सर्लाही, पर्सा, बारा र भारतको बिहारका समूहसमेत काठमाडौंमा आएर संगठित रुपमा चोरीमा लागेको एसएसपी लोहनीले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लोहनी भन्छन्, “प्रहरीलाई हैरान खेलाउने भनेको टापटिपेभन्दा संगठित रूपमा चोरी–डकैतीलाई पेसा बनाउने नै हुन् । लतिलपुर तथा भक्तपुरमा यस्तो संगठित समूहको संख्या ७ छ । अधिकांश समूहमा स्वदेशी चोर नै छन्, २ वटा समूह भारतीय नागरिकको हो ।”

अनुसन्धान अधिकारीका अनुसार उपत्यकामा सक्रिय चोरहरुको पनि आ–आफ्नै क्षेत्र छ । अर्काको क्षेत्रमा गएर चोरी गरेमा चोरहरुकै समूहमा भिडन्त पर्ने गरेको छ । नेपाली चोर समूह प्रायः अरुको क्षेत्रमा जाँदैनन्, तर भारतीय र तराईका चोरहरु मिलेर बनेको समूह जहाँ पायो त्यही चोरी गर्न पछि पर्दैन । 

प्रहरीका अनुसार उपत्यकामा कर्ण समूह, जिमी समूह, बासु समूह, रामेछापे समूह, दोलखाली समूह, विष्णु समूह र भारतीय समूह संगठित चोरीमा सक्रिय छन् ।  यी समूहबीच एक अर्कामा कनेक्सन छैन । यिनीहरु एकपटक पक्राउ परेर छुटेपछि  लगत्तै चोरीमा नै संलग्न हुन्छन् । 

महाशाखाका अनुसार उपत्यकामा सक्रिय ३ सय व्यावसायिक चोरमध्ये १ सय ५० को हाराहारीमा हिरासतमा छन् भने बा“की चोरीमै सक्रिय छन् । यी समूहले दैनिक उपत्यकामा मात्र महिनाको २० वटासम्म ठूलो चोरी गर्छन् । विशेषगरी गहना तथा इलेक्ट्रोनिक सामानमा चोरको आ“खा पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीमा परेका उजुरीलाई हेर्ने हो भने काठमाडौंका महाराजगञ्ज, थापागाउ“, शान्तिनगर, रातोपुल, बाफल, गैरीगाउ“, डल्लु, कलंकी, सिनामंगल, गौरीघाट बढी चोरी हुने क्षेत्र हुन् । चोरी नै नहुने भने राजधानीको कुनै स्थान छैन । 

एक्लै चोर्न जाने ग्याङ बनाएर फर्किन्छ
चोरी गरी जेल परेका सामान्य चोर पनि समूह बनाएर बाहिर निस्कने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । “कुनै एउटा चोरीको घटनामा जेल गएको चोर सुध्रिएर फर्कियो होला भन्ने सोचाइ हुन्छ, तर त्यो व्यक्तिले जेलभित्रै समूह खडा गरेको हुँदो रहेछ । जेलबाट बाहिर निस्केपछि कता चोरी गर्ने भन्ने पनि फिक्स हुने गरेको उनीहरु पुनः पक्राउ पर्दा खुल्छ,” एसएसपी लोहनी भन्छन्, “त्यस्ता चोरहरु पक्राउ पर्दा पनि ढुक्क हुन्छन्, धरौटीमा छुटिहालिन्छ भनेर ।”

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १३:१३
प्रतिक्रिया दिनुहोस्