site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाबाट भागेर सुटर, तिवारी र गौचनलाई गोली हान्ने व्यक्ति एउटै

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने नेपाली सेनाका भगौडा श्याम लामा (गुम्बे)ले नै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई पनि गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाली सेनाको इलामस्थित काजीध्वज गणबाट भागेका गुम्बेको सम्पर्क समिरमान बस्न्यात मनोज पुनसँग गाँसिएको थियो । पुनले नै तिवारीको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

प्रहरीका अनुसार समिरभन्दा अघि गुम्बेको साँठगाँठ मनोजसँग थियो । तिवारीलाई पनि गुम्बेले नै गोली प्रहार गरेको प्रहरी अनुन्धानबाट देखिएको छ । प्रहरी भन्छ–तिवारी हत्यापछि भागेका पुन र घैंटेको इन्काउण्टरपछि भागेका समिरमानबीच भारतमा भेट भयो र केही समय उनीहरुले मिलेर व्यापारीलाई धम्क्याउँदै हप्ता असुले । त्यही बेला अर्का गुण्डा दावा लामामाथि गोली प्रहार भयो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दावा गोली प्रहारमा पनि उनीहरुको हात रहेको अनुसन्धानबाट खुले पनि पहिल्यै पुन समूहका फरार अभियुक्त लोप्साङ लामाले घटनाको जिम्मा लिइसकेका थिए ।  समिर र पुनको विवादपछि समूह छुट्टियो र गुम्बे समिरतिर आए । गौचन हत्यामा उनैले गोली चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी अधिकारीका अनुसार तिवारी र गौचन हत्यामा गुम्बेले नै गोली हानेको खुलेको छ । 

गौचन हत्याका मुख्य योजनाकार समिर यसअघि नै पक्राउ परिसकेका छन् । गौचन हत्याकाण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुम्बेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ । “हत्यामा संलग्न अझै तीनजना फरार छन्, उनीहरु पनि पक्राउ पर्छन्,” ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्की भन्छन्, “दुवै घटनामा गुम्वेको मुख्य भूमिका देखिन्छ । सेनाका भगौडा गुम्बे गौचन हत्याका मुख्य सुटर हुन् । उनका साथी अमर राना अझै फरार छन्, खोजी हुँदैछ ।” 

यसरी पक्राउ परे गुम्बे
केही दिन अघिमात्र व्युरोको टोलीले रुपन्देहीका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्नलाई खोज्दै जाने क्रममा गौचन हत्याका सुटर पनि चितवनमै भएको जानकारी आयो । त्यसपछि ब्युरोको टोलीले मिसन गुम्बे पक्राउ थाल्यो र चितवन पुगेर गुम्बेको खोजी सुरु गर्यो । सोमबार रातभरि खोजी गर्दा गुम्बे लुकेर बसेको अवस्थामा फेला परे । गुम्बेलाई व्युरोले मंगलबार नै राजधानी ल्याएर महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १५:१८
प्रतिक्रिया दिनुहोस्