site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । यातायात व्यवस्था विभागका कर्मचारीले बिचौलीयासँगको मिलेमतोमा  ट्राफिकको आँखा छल्दै ट्रायल पास गराउने रहस्य खुलेको छ । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखासँगैको नेशनल ट्रेडिङमा रहेको ट्रायल सेन्टरबाट यातायात व्यवस्था विभागका खरिदार यमबहादुर केसी पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । 

ट्रायल फेल भएकालाई ट्राफिक प्रहरीको आँखा छलेर फेरि तुरुन्तै ट्रायल दिने तयारी गराउँदै गरेका बेला केसीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार बिहान ४ पांग्रे सवारीसाधनको लाइसेन्सका लागि ट्रायल दिन गएका भक्तपुर नगरपालिका–७ का सुनिल गोरखाली फेल भए । उनलाई खरिदार केसीलगायत यातायातका कर्मचारीले बाहिर पठाए ।

उनी फेल भएपछि रातो चिन्ह लगाएर उनलाई फेल भएको बताउनुपर्ने हो, तर त्यसो नगरी खरिदार केसीले उनलाई एकछिन पछि भेट्न भने । गोरखाली बाहिर गए । एक छिनपछि खरिदार केसी आफैं बाहिर आएर गोरखालीलाई पुनः ट्रायल गराउने ग्राउण्डमा लगे । यो थाहा पाएपछि ट्राफिक प्रहरीले ट्रायल दिने गोरखाली र यातायातका खरिदारलाई नियन्त्रणमा लियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खरदार साबले खाना खाएर आउनू भने : गोरखाली
पक्राउ परेका गोरखालीले आफू फेल भएपछि यातायातका खरिदारले पछि फेरि आउनू भन्दै बाहिर पठाएको र पछि आफैं खोज्दै आएर भित्र लगेको प्रहरीमा बयान दिएका छन् ।

उनले ट्राफिक प्रहरीमा भने, “म फेल भइसकेको थिएँ, गाडी लेन बाहिर जाँदा ट्राफिक प्रहरीले सिठी बजाएपछि म बाहिर आएँ । खरिदार साबले फेरि दिन आउनू भन्नुभएको थियो  । म ढिलो भएपछि उहाँ आफैं बाहिर आएर लिएर जानुभएको थियो । पैसा नदिएसम्म लाइसेन्स आउँदैन भन्नुभएको थियो ।” 

खरिदारको मोबाइलमा हाकिमदेखि फोटो स्टुडियो दलालको फोन 
ट्राफिक प्रहरीको आँखा छली फेल भएकालाई पुनः ट्रायल गर्न दिने खरिदारलाई ट्राफिक प्रहरीले ट्राफिक महाशाखा राख्यो । उनको फोन ट्राफिकले आफैं राखेको थियो । खरिदार केसीको मोबाइलमा दलालदेखि यातायात व्यवस्था विभागका अधिकृतसम्मको फोन । 

खरिदार केसीको मोबाइलमा नियमित रुपमा बिचौलीया तथा यातायातका कर्मचारीको फोन आउन थालेपछि ट्राफिक प्रहरी नै हैरान भएको थियो । उनको मोबाइलमा ‘काभ्रे फोटो स्टुडियो दलाल’ नाममा सेभ गरेको नम्बरबाट बारम्बार फोन आइरहेको थियो भने ट्रायल सेन्टर छेउछाउ बस्ने विभिन्न व्यक्तिको फोन पनि नियमित रुपमा आउने गरेको थियो ।

केसी प्रहरीको नियन्त्रणमा थिए तर उनी प्रहरी फन्दामा परेको मेसो अरुले पाएका थिएनन् । सेटिङ अनुसार फिक्स गराइएका व्यक्तिहरु फेल हुन थालेपछि भटाभट उनलाई फोन आउने गरेको अनुमान प्रहरीको छ । 

पक्राउ परेका खरिदार केसी नै बिचौलीयासँग डिल गर्ने व्याक्ति भएको ट्राफिक प्रहरीको आशंका छ । सोमबार पक्राउ परेलगत्तै उनको मोबाइलमा उनैको भाषामा सेभ भएका नम्बरबाट विभिन्न दलालका नामबाट फोन आउने गरेको थियो । पक्राउ परेका खरिदार केसी र उनको सञ्जालका बारेमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

आइतबार पनि ट्राफिक प्रहरीले रंगेहात २ जना बिचौलीयालाई एकान्तकुनाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  १६:३४
प्रतिक्रिया दिनुहोस्