site stats
बाह्रखरी :: Baahrakhari
देश
सामूहिक बलात्कार सम्बन्धी घटना ढाकछोप गरेको भन्दै सुनसरी प्रहरी प्रमुख कारवाहीमा, निलम्वन गर्न गृहलाई पत्राचार  

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझीलाई निलम्वन गर्न गृहमन्त्रालयमा पत्र पठाएको छ । 

पुस १६ गते सुनसरीको इटहरी २ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई ढाकछोप गर्न भूमिका खेलेको भेटिएपछि उनलाई निलम्बनका लागि गृहलाई पत्रचार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पीडित पक्षको जाहेरी लिन नमानेको र उल्टै अभियुक्त पक्षसँग मिलेर पीडित पक्षलाई मिलापत्र गराएको घटनाका बारेमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्वनका लागि गृहमा पत्राचार गरेको हो । 

एसपी माझीलाई निलम्बन गर्न गृहलाई पत्राचार गरेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पुष्टि गरे । बाह्रखरीसँग कुरा गर्दै प्रवक्ता डीआईजी न्यौपानेले भने, “१६ गते भएको घटनाका बारेमा आफन्तले प्रहरीमा उजुरी गरेको भए पनि निष्पक्ष अनुसन्धान भएन भन्ने कुरा बाहिर आयो । त्यसैका आधारमा एउटा समिति बनेको थियो । समितिले दिएको प्रतिवेदनअनुसार नेतृत्वको केही कमजोरी देखियो ।”

“सामूहिक बलात्कारजस्तो जघन्य अपराधलाई निस्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने हुन्छ, त्यसैका लागी उनलाई निलम्वनको प्रक्रिया अघि बढाएको हो,” प्रवक्ता न्यौपानेले भने । 

प्रहरीका अनुसार इटहरी–२० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते राति इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा उनकै प्रेमी जोकम लिम्बु र उनको साथी विराटनगरका मनीष श्रेष्ठले मदिरा खुवाएर सामूहिक बलात्कार गरेका थिए । 

घटनाको भोलिपल्ट पीडित परिवार प्रहरीमा उजुरी  गर्न पुगेको थियो । तर एसपीको निर्देशनमा मुद्दा दर्ता नगराएर कार्यालयभित्रै पीडित र पीडकबीच मिलापत्र गराइएको थियो । 

पक्राउ परेका अभियुक्त लिम्बुको मोबाइलमा बालिकासँगको क्रियाकलापको भिडियो समेत बनाएको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १८:३६
प्रतिक्रिया दिनुहोस्