site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा तिवारीको हत्या आरोपी मनोज भारतमा बसेर आपराधिक समूह चलाउँछन्, दोस्रो प्रयासमा हत्या भएको हो : प्रहरी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्न लगाएको आरोप लागेका मनोज राना मगर संघकै रुपन्देही पूर्व कोषाध्यक्ष रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकारीका अनुसार मनोज एमालेको भ्रातृ संगठन युवा संघमा आबद्ध हुनुअघि माओवादीमा थिए । 
देवदह–६ रुपन्देहीका २८ वर्षीय मनोज व्यक्तिगत रिसिबी साँध्न एमाले छाडेर माओवादीमा लागेको चर्चा पार्टी वृत्तमा चल्यो । उनको गतिविधि शंकास्पद लागेपछि माओवादीले उनलाई निगरानीमा राख्यो । आफू पार्टीको निगरानीमा रहेको र जुनसुकै बेला निष्कासनमा पर्ने खतरा देखेपछि उनी फेरि युवा संघमै फर्के । 
मनोजले आर्थिक अपारदर्शिता र आपराधिक क्रियाकलाप गर्न थालेपछि तिवारीले नै उनलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेका थिए । 
पार्टीबाट निकालिएपछि मनोज भूमिगत भए । प्रहरीका अनुसार उनले आफ्ना ‘शत्रु’को लिस्ट नै बनाएर सीमा क्षेत्र र भारतमा बस्दै विभिन्न खालका आपराधिक गतिविधि गर्न थाले । 
पार्टीबाट निकालेको झोंकमा मनोजले पहिलो निसाना तिवारीलाई बनाएको प्रहरी बताउँछ । मनोजले तिवारीसँग २० लाख रुपैयाँ फिरौती मागेको सो रकम नदिने भनेपछि हत्या गर्ने धम्की दिँदै आएको बताइएको छ । तिवारीले आफूलाई वास्ता नगरेका कारण मनोज उनको हत्या गर्ने निष्कर्षमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
“मनोजले अघिल्लो पटक नै हत्या गर्न खोजेको देखिन्छ,” रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले बाह्रखरीसँग भने, “त्यति बेला बचेका तिवारीलाई सोमबार मध्यान्ह गोली प्रहार गरियो ।” 
भारतीय भूमिमा बसेर मनोजले एक आपराधिक समूह नै बनाएका थिए । प्रवक्ता  पाण्डेका अनुसार अघिल्लो गोली काण्डमा मनोजको समूहका ८ जना पक्राउ परेका थिए । उनीहरु अहिले कारागारमा छन् । 
प्रवक्ता पाण्डेले थपे, “मनोजको उद्देश्य राजनीति गर्ने भन्दा पनि शक्तिको आडमा पैसा कमाउने देखिन्छ । तिवारीको हत्यामात्र हैन, मनोज संगठित अपराधका नाइके हुन्, उनले दर्जनौं अपराध गरेका छन् । भारतमा बसेर उनले विभिन्न खालका आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।”

सीमा सिल गरी कडा चेकजाँच
तिवारीको हत्यालगत्तै प्रहरीले रुपन्देहीसँग जोडिएको भारतसँगको सिमाना सिल गरी सुरक्षा चेकजाँच थालेको छ । मोटरसाइकलमा सवार रहेका तिवारीलाई ताकेर छातीमा गोली हानिनुले गोली हान्ने सुटर ‘प्रोफेसनल’ हुनुपर्छ भन्ने प्रहरीको ठहर छ । सुटर भाग्न नपाओस् भन्दै सीमा सिल गरेको प्रहरीले जनाएको छ । 
प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी मनोजलगायत तिवारी हत्यामा संलग्न अन्यको पनि खोजी कार्य गरिरहेको छ । प्रहरीले मनोजको तस्बिर सार्वजनिक गरी सर्वाधिक खोजीको सूचीमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७३  ११:३७
प्रतिक्रिया दिनुहोस्