site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले सुरु गर्‍यो इन्टरनेटबिनै ईमेल पठाउन सकिने प्रविधि

काठमाडौं । नेपाल प्रहरीले इन्टरनेटबिना पनि ई–मेल आदानप्रदान गर्न सकिने प्रविधि प्रयोगमा ल्याएको छ । एचएफ रेडियो डाटा भनिने यो प्रविधि प्रयोग गरेर इन्टरनेट सुविधा नपुगेका विकट ठाउँबाट पनि सजिलै ई–मेल गर्न सकिन्छ ।

लामो समयको अध्ययन र परीक्षणपछि प्रहरीले आइतबारदेखि यो सेवा सुरु गरेको हो । यो प्रविधिबाट सूचना आदानप्रदान गर्दा सूचना चुहावट हुने खतरा पनि नहुने भएकाले सुरक्षित रहेको प्रहरीको भनाइ छ । 

नेपाल प्रहरीका देशभर २५ सय ३ वटा प्रहरी एकाइ छन् । तीमध्ये ९१ प्रतिशत स्थानमा रेडियो कम्युनिकेसनको पहुँच छ । बाँकी स्थानमा कुनै पनि सञ्चारको पहुँच छैन । ती स्थानमा एचएफ रेडियो डाटा प्रविधि उपयोगी हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सञ्चारको कुनै पनि पहुँच नभएको स्थानमा पनि यो प्रविधिले काम गर्ने भएकाले एचएफ रेडियो डाटा अत्यन्तै फलदायी हुने विश्वास लिएका छौं,” नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डा. राजिव सुब्बा भन्छन्, “यो हाइ फ्रिक्वेन्सी रेडियो प्रविधि सय वर्ष पुरानो प्रविधि हो, हाम्रो देशको लागि सुहाउँदो छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुको नेपालका सबै स्थानमा पहुँच छैन, त्यस्ता स्थानमा यो प्रविधिले काम गर्न सक्छ ।”

हुम्ला, डोल्पालगायत जिल्लाका थुप्रै ठाउँमा इन्टरनेट तथा टेलिफोन नचल्ने भएकाले त्यस्ता ठाउँमा यो प्रविधि प्रयोग गर्न सकिने सुब्बाले बताए । “त्यस्ता ठाउँमा यो प्रविधि लगेर जोड्ने हो भने त्यहाँबाट फोटो तथा त्यहाँको खबर पाउन सकिन्छ, त्यसैले यो प्रविधिलाई बढाउन जरुरी छ,” डीआईजी सुब्बाले भने । 

के हो एचएफ रेडियो डाटा ?
रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट इन्टरनेटबिना नै ई–मेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गर्ने हो भने इन्टरनेट ब्राउज पनि गर्न सकिन्छ । त्यसैगरी इमेल सर्भरमा जडान गर्ने हो भने व्यक्तिगत व्यक्तिगत इमेल ठेगानामा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । 

यसरी हुन्छ यसको प्रयोग 
जमिन अर्थात् प्रहरीको ट्रान्समिटरले पठाएको सिग्नल आकाशमा जान्छ र एउटा लेयरमा गएर बस्छ । त्यसपछि त्यो तरंग तल झर्छ, जसलाई प्रहरीकै रिसिभरले ‘क्याच’ गर्छ । यसको कुनै सर्भर नहुने भएकाले कतै रेकर्ड रहँदैन र प्रहरीको फ्रिक्वेन्सीले मात्रै क्याच गर्न सक्छ । त्यसैले पनि यो प्रविधि नेपालका लागि उपयुक्त हुने विज्ञहरु बताउँछन् । 

तर, यो प्रविधि मौसम हेरेर प्रयोग गर्नुपर्ने हुन्छ, खराब मौसम भएका बेला भने अवरुद्ध हुन सक्छ । डीआईजी सुब्बा भन्छन्, “जमिनबाट सिग्नल पठाउँदा तरंग आकाशमा जान्छ, आकाशमा त्यो तरंग स्वतन्त्र रुपले जान्छ र भुइँमा झर्छ । सर्भरमा नजाने भएका कारण त्यसको डाटा प्रहरीमा मात्र हुन्छ । त्यसैले यो भरपर्दो र सुरक्षित माध्यम हो ।” 

विकटमा उत्तम 
हुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका पाटनमा जेठ–असारमा यार्चागुन्बु टिप्नेको निकै घुइँचो हुन्छ । त्यहाँ घटना, लुटपाट र हत्याजस्ता आपराधिक घटना हुने भएका कारण प्रहरी पनि खटिने गरेका छन् । तर, त्यहाँ खटिने प्रहरीसँग सञ्चारको माध्यम हुँदैन । कुनै खबर गर्नुपरेमा दुई–तीन दिन हिँडेर प्रहरीको सञ्चार पहुँचसम्म पुग्नुपर्ने बाध्यता छ ।

“यस्ता ठाउँ र विपत व्यवस्थापनका लागि यो प्रविधि अत्यन्तै उपयोगी हुने भएका कारण प्रहरीले यसलाई विस्तार गरी बढाउँदै लैजाने योजना बनाएको छ,” डीआईजी सुब्बाले भने । 

उनका अनुसार प्रहरीसँग अहिले यस्ता ३ वटा सेट छन् । एक सेटको मूल्य ५ देखि ८ लाख रुपैयाँसम्म पर्ने डीआईजी सुब्बाले बताए । प्रहरीले यो प्रविधि प्रयोगमा ल्याउनुअघि दाङ र काभ्रेबाट परीक्षण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ११:३५
प्रतिक्रिया दिनुहोस्