
काठमाडौं । काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकैबाट बग्ने विष्णुमती नदीमा बुधबार साँझ एउटा कार खस्यो । कार चालक थिए, कञ्चनपुरका ३५ वर्षीय अंकुश सिंह । कारमा दाङकी ३४ वर्षीया भावना वली पनि थिइन् ।
कार नदीमा बगेपछि चालक अंकुश हाम फालेर बाहिर निस्किए । तर, भावना कारबाट निस्किन सकिनन् ।
वाग्मती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको कारलाई नदीले ग्रान्डीबाट बानियाँटारसम्म करिब डेढ किलोमिटर बगायो । बानियाँटार पुगेर कार अड्कियो । प्रहरीले कारभित्रै फसेकी भावनाको सकुशल उद्धार गर्यो । उनको अवस्था सामान्य छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, कार ग्रान्डी अस्पताल पछाडिको पुल नजिकैको घुम्तीबाट नदीमा खसेको हो । कारसँगै चालक अंकुशसमेत बगेका थिए । तर, पछि उनी कारबाट हाम फालेर बाहिर निस्किएका थिए ।
‘‘कार घुम्ती र सानो पुल नजिकैबाट नदीमा खसेको थियो । चालकले मोड्न नसक्दा नदीमा खसेको बताएको छन् । प्रहरीले हेर्दा पनि मोडबाट नै कार खसेको देखिन्छ,’’ एसपी बोहराले बाह्रखरीसँग भने ।
हेर्नुहोस् भिडियो