site stats
बाह्रखरी :: Baahrakhari
देश
भीआईपीका चालकलाई सडक अनुशासन सिकाउँदै ट्राफिक प्रहरी

काठमाडौं । सवारीसाधन चलाएर सडकमा निस्केपछि ट्राफिक नियमको पालना गर्नु चालकको कर्तव्य हो । सडक नियम सबैका लागि एउटै छ । तर, व्यवहारमा त्यस्तो देखिँदैन । 

सडकमा साइरन बजाएर हिँड्ने भीआईपीका सवारीलाई ट्राफिक नियम छुटजस्तै छ । पदीय दुरुपयोग गर्दै उनीहरुले सडक नियम मिच्ने गरेको नयाँ होइन । भीआईपी सवारीका कारण सडकमा जाम हुने र दुर्घटना नै निम्तिएका घटना पनि भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो समय जनार्दन शर्मा गृहमन्त्री भएर आएपछि यो विषय फेरि चर्चामा आएको छ । शर्माले यो विषय भीआईपीको सुरक्षामा खटिने सुरक्षाकर्मी तथा चालकसँग सम्बन्धित रहेको बताएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ । 

“सडकमा भीआईपीले नियम मिचेको धेरै गुनासो आएपछि हामीले यस विषयमा गृहमन्त्रीसँग छलफल गर्यौं,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआइजी मिग्मार लामाले  भने, “भीआईपीले सवारी चलाउने हैन, त्यसमा सुरक्षा गार्ड हुन्छन्, उनीहरुले कुन बाटोबाट जाने भन्ने तय गर्छन् । सडक नियमबारे उनीहरुलाई सिकाउनुपर्छ भन्ने निष्कर्षपछि हामीले भीआईपी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सडक नियम पढाउन थाल्यौं ।” 

लामाका अनुसार २ सातायता करिब २ सय जना भीआईपीका सुरक्षा गार्डलाई ट्राफिक नियम र भीआईपीसँग सवार गर्दा बाटोमा कस्तो व्यवहार गर्ने भन्नेबारेमा कक्षा दिइएको छ । “यो कक्षा सुरु गरेयता धेरै सुधार आएको छ,” डीआईजी लामाले भने । 

कतिपय भीआईपीका सुरक्षा गार्डले सडक नियम मिच्नेगरी सवारी चालकलाई चलाउन बाध्य पार्ने गरेको र भीआईपीले पनि आफ्नो सवारीका कारण सडक जाम भएको कुराको परवाह नगरेको सडकमा खटिने ट्राफिक प्रहरीहरु बताउँछन् । “भीआईपी पनि कति धेरै हुन्, सडक नियम मिच्दै जान्छन्, उनीहरुलाई स्यालुट मार्नुपर्छ,” सिंहदरबार चोकमा ड्युटीमा खटिएका एक ट्राफिक हवल्दारले तितो पोखे, “अन्य सबै लेनको पालना गर्दै कुरिरहेका हुन्छन्, भीआईपी लेन मिच्दै हिँड्छन् । उनीहरुलाई न  जरिबाना, न चेतना कक्षा ।”

ट्राफिक प्रहरीले ५ जना भीआईपीलाई मात्र सडक खाली गराएर पास गर्ने  व्यवस्था छ, त्यो पनि समय र परिस्थिति हेरेर मात्र । तर, छिनछिनमा इमर्जेन्सी लाइट बालेर कुद्ने सवारीसाधनले सडकमा खटिने प्रहरी हैरान छन् ।

“हिजोआज यति धेरै भीआईपी छन् कि हेक्का नै हुँदैन । पिलिक–पिलिक सवारीको इमर्जेन्सी बालेर कुदेका हुन्छन्, सडक नियम मिचेका हुन्छन् स्यालुट मार्नैपर्यो । अरुले गल्ती गरे कारबाही गर्नुपर्छ, उनीहरुले गल्ती गरे पनि स्यालुट मार्नुपछ,” भद्रकालीमा खटिएका एक ट्राफिक इन्सपेक्टरले भने ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४  १५:५१
प्रतिक्रिया दिनुहोस्