site stats
बाह्रखरी :: Baahrakhari
देश
खनालको निर्देशन– चालकसँग पैसा उठाउनेले विचार गर्नू

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले आर्थिक चलखेलमा लाग्ने ट्राफिक प्रहरीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व सम्हालेका एसएसपी खनालले उपत्यकाभरका ट्राफिक कार्यालयका इन्चार्जलाई भेला पारेर सडक व्यवस्थापनमा खटिएका प्रहरी आर्थिक लोभमा फसेमा उनीहरुलाई कसैले पनि बचाउन नसक्ने भन्दै त्यहीअनुसार आफ्नो मातहतमा सचेत गराउन निर्देशन दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्रिफिङका क्रममा खनालले भने, “ट्राफिक प्रहरीका समस्या के छन् ल्याउनुस्, छलफल गरेर समस्या समाधान गरौँला तर समस्या भयो भन्दैमा काम नगर्ने हैन, र चालकसँग अनुचितरुपमा आर्थिक लाभ लिने होइन । पैसा असुल्ने कसैले पनि छुटकारा पाउनेछैन ।” उनले सडकको जाम हटाएर रिजल्ट देखाउन पनि मातहतका अधिकृतलाई निर्देशन दिए ।  “उपत्यकाको ट्राफिक समस्या निकै जटिल बनेको छ, यसलाई व्यवस्थापन गर्न आवश्यक स्रोत प्रयोग हुनेछ,” उनले भने ।

जिम्मेवार निकायसँग समन्वय गरेर ठोस नीति बनाएर अघि बढ्ने पनि उनले बताए ।  प्रहरी प्रधान कार्यालयले मंगलबार नै हाजिर हुने गरी प्रहरी प्रवक्ता समेत रहेका खनाललाई ट्राफिक महाशाखा पठाएको थियो ।

यसअघि महाशाखामा रहेका डीआईजी मिङ्मार लामालाई ट्राफिक निर्देशनालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४  १९:१९
प्रतिक्रिया दिनुहोस्