site stats
बाह्रखरी :: Baahrakhari
देश
तराई–मधेसमा अत्यधिक गर्मीले जनजीवन प्रभावित
फाइल तस्बिर ।

धनुषा । धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

घरबाहिर निस्कनै मुस्किल
सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घरबाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग, व्यवसाय सबै प्रभावित भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिरामी बढे
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवारोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. दासको भनाइ छ ।

डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिम समेत बढ्दै गएको छ ।”

दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लू लाग्ने जोखिम बढेको डा. दास बताउँछन् ।

बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायत तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए ।

बन्द गरिँदै विद्यालय बन्द
समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ ।

गर्मीका कारण बालबालिकालाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउँछन् । “विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,” गुप्ताले भने, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ, तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्