site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको उनले जिकिर गरेका हुन् ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको तर्क गरे । छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी सरकारबाट हटेपछि समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता, हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन । ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन,” उनले भने, “समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि, यो एउटा खरबपति र अर्कोचाहिँ मजदुर उनीहरू दुईवटाको सम्पत्ति मिलाउँदाखेरि एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०÷२० अर्ब कमाएको देखियो नि त ! कमाएको एकजनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।”

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यानकेन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

“अब हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिबी निवारण गर्नु छ । सबभन्दा फास्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दाखेरि हाम्रो १७÷१८ प्रतिशत पपुलेसन अझै पनि गरिबीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेसन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नु नपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ । त्यसकारण रूपान्तरणका लागि टेक्नोलोजी । साइन्सलाई प्रविधिमा कसरी रूपान्तरण गर्ने भन्ने हो,” उनले भने, “त्यसकारण हामी गरिबीबाट मुुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । र, सिंगै पपुलेसनलाई गर्न जरुरी छ । हामी यो साइन्स एन्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौँ ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिबी अन्त्य गरौँ । र, सम्पूर्ण पपुलेसनलाई अगाडि बढाऔँ भनेर ।”

कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्