site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत भ्रमणका क्रममा के हो प्रधानमन्त्री प्रचण्डको ‘राष्ट्रहितविपरीत’को अभिव्यक्ति ?
नेपाल फर्किएपछि शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रासस ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहितविपरीत अभिव्यक्ति दिइएको भन्दै आज संसद् बैठकमा जवाफ माग गर्ने भएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकबाट संसद्मा सरकारको जवाफ माग गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्रीले प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि ‘भूमि सट्टापट्टा प्रस्ताव नेपालको चाहना हो वा भारतको रणनीतिक स्वार्थ ?’ भन्दै प्रश्न गरेका छन् । शनिबार उनले ट्विटरमार्फत देशभित्र छलफल नगरी यस्तो संवेदनशील विषयमा हचुवा अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

-भूमी सट्टापट्टा प्रस्ताव नेपालको चाहना हो वा भारतको रणनीतिक स्वार्थ?
-भारत भ्रमणमा रहँदा यस्तो विचार किन फुर्‍यो?देशभित्र छलफल नगरी यस्तो संवेदनशील विषयमा हचुवा टिप्पणी किन आयो?
-भारतको भूमी भएर बंगलादेश जाने बाटो भारतले सन् १९९७मा नै नेपाललाई दिइसकेको शायद प्रमलाई थाहा भएन कि? https://t.co/f2J1iswsFT pic.twitter.com/GlcrBt6tL2

— Kamal Thapa (@KTnepal) June 3, 2023

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा उठान गर्ने भनेका विषय किन उठाउन नसकेको भन्दै प्रश्न गरिने जानकारी दिए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र त्यो तीर्थाटनजस्तो भएको टिप्पणी गरे । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुगेको उनले उल्लेख गरे ।

“बजेटका बारेमा भोलिबाट छलफल सुरु हुँदै छ । हाम्रो माननीय सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने र बजेटमा के कमी छन्, कहाँ कमजोरी छन् भन्ने बारेमा, अहिले मुलुकको अवस्थालाई बजेटले सम्बोधन हुन सकेको छ/छैन भन्ने बारेमा विज्ञहरूबाट धेरै प्रस्ट पार्नुभएको छ । त्यसमा हामीले अन्तरक्रियात्मक ढंगले छलफल पनि गरेका छौँ । पार्टीको अध्यक्ष, संसदीय दलको नेताले समग्र मुलुकको अहिलेको राजनीतिक अवस्था, बजेट वक्तव्य, अर्थतन्त्र, जनताको अपेक्षाका सन्दर्भमा बजेटले पार्न नसकेका विभिन्न पक्षहरूको बारेमा आफ्ना धारणा राख्नुभयो,” उनले भने, “प्रधानमन्त्रीले भारत भ्रमणमा देशको हितको पक्षमा बोल्न सक्नु भएन । हाम्रा मुलुकका सीमा समस्या, त्यस विषयलाई पनि उठाउन सक्नु भएन । ईपीजी जुन थियो, त्यसका प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरू पनि उहाँले उठाउनु भएन । देशको हितको पक्षमा बोल्ने काम भएन । देशको स्वार्थको बारेमा बोल्नुपर्नेमा तीर्थाटनमा गएको हो कि जस्तो देखियो । भ्रमण निराशाजनक छ । यहाँ जसरी प्रतिबद्धता जनाउनुभएको थियो, त्यसलाई ध्यान दिनु भएन । संसद्मा हामी अब सीमा समस्या, ईपीजीका बारेमा किन बोल्न सक्नु भएन ? ईपीजीको प्रतिवेदन बुझ्ने सवालमा किन उहाँले बोल्न सक्नु भएन ? हाम्रो सीमा समस्याका बारेमा किन बोल्न सक्नु भएन ? फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमिसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैरजिम्मेवार, राष्ट्रहितविपरीत, राष्ट्रघातका कुराहरू किन त्यस्ता अभिव्यक्ति दिनुभयो ? त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ । प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।”

प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझी बजेट ल्याइएको जिकिर गरे । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको उनको भनाइ छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रिपरिषद्ले बाध्य पारेको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले ख्याल नगरी संसद् छलेर नागरिकता विधेयक ल्याइएकोप्रति पनि विरोध गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्