site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनकोसीमा कसरी खस्यो सीटीईभीटीको गाडी ? यस्तो छ चालकको बयान

काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीको खोजीकार्य जारी छ । गएको शुक्रबार गाडी नदीमा खस्दा त्यसमा सवार उनीहरू बेपत्ता भएका हुन् ।

उक्त गाडी पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी एवं सूचना अधिकारी चिरञ्जीवी दाहालले जानकारी दिए ।

“बेपत्ताको खोजीकार्य जारी छ, फेला परेको छैन,” उनले बाह्रखरीसित भने, “४० जनाको टोली खोजीकार्यमा खटिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत टोलीले बेपत्ता कर्मचारीको खोजी गरिरहेको छ ।

दुर्घटनामा परेको गाडीका चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी भने सकुशल छन् । गाडीसँगै नदीमा खसे पनि आफू पौडी खेलेर बाहिर निस्किएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

चालक चौधरीले गाडीको ‘ब्रेकफेल’ भएपछि सडकछेउको भित्तामा ठोक्किएको र अनियन्त्रित भई नदीमा खसेको बताएको डीएसपी दाहालले जानकारी दिए ।

“ब्रेकफेल भयो, ब्रेकफेल भएपछि गाडी दाहिने भित्तामा ठोक्कियो, त्यसपछि अनियन्त्रित भएर भीरबाट नदीमा खस्यो भनेका छन्,” चालक चौधरीको भनाइ उद्धृत गर्दै उनले भने, “मचाहिँ पौडिएर निक्लिएँ भन्छन् ।”

डीएसपी दाहालका अनुसार चालक चौधरीको अवस्था सामान्य छ । दुर्घटनापछि खुर्कोटस्थित स्थानीय मेडिकलमा उनको सामान्य उपचार गरिएको थियो । लगत्तै उनलाई डिस्चार्ज गरिएको थियो ।

गाडी फेलापरेपछि प्राविधिक परीक्षणलगायत कार्यपश्चात् मात्र दुर्घटनाको यकिन कारण थाहा हुने उनले बताए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, लौकुन नभघाटस्थित सडकबाट गाडी करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जीप दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेल र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेल छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्