site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँका नाममा ‘पपुलिस्ट’ राजनीति गर्नेले समाजलाई दिग्भ्रमितको कोसिस गरिरहेका छन् : पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँका नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन् ।

राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट ढंगले अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही ‘पपुलिस्ट’हरू यो क्षेत्रमा आउन खोजिरहेको उनको ठहर छ । तर, ती सबै व्यापारिक पुँजीवादको पक्षपोषक रहेको उनको जिकिर छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँका नामबाट सुरु भएका राजनीतिक दलहरू यथास्थितिवादलाई पोषण गर्नेबाहेक अरू ठोस आधार र धरातल नभएको उनको बुझाइ छ ।

न्युज एजेन्सी नेपालसँग महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरेको उल्लेख गरे । तर, उनीहरूले परिवर्तनको आकांक्षाहरूलाई सम्बोधन र समाजका समस्यालाई समाधान गर्न नसक्ने पोखरेलको भनाइ छ ।

समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर यसलाई सही बाटोमा डोहोर्‍याउन सकिन्छ भन्ने मान्यता गलत रहेको उनले बताए ।

“नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन् न त उनीहरूको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरू रहेका छन् । न त उनीहरू समाजलाई नीतिगत रूपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडि बढ्न खोजिरहेका छन् । विशुद्ध रूपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरीकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस गरिरहेका छन्,” महासचिव पोखरेलले भने, “नयाँको नाममा सुरु भएको पलुलिस्ट जुनप्रकारको राजनीति छ, यो राजनीति भनेको यथार्थतामा भन्नुहुन्छ भने, यथास्थितिवादलाई पोषण गर्ने कुरा मात्रै हो । व्यापारिक पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । दलाल नोकर शाही पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । समाजलाई परिवर्तनको दिशातर्फ, समृद्ध समाजतर्फ अगाडि बढाउने हो भने हामीले कुन प्रकारका नीतिका आधारमा समाजलाई त्यो बाटोमा अगाडि बढाउने भन्ने प्रश्नका सन्दर्भका बारेमा नीतिगत बहस गर्नै पर्दछ । वैचारिक बहस गर्नै पर्दछ ।” 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्