site stats
बाह्रखरी :: Baahrakhari
देश
युट्युबरमाझ किन चर्चित छ अनलाइन जुवाको प्रचार ?

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप वानएक्सबेट मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चर्चित कलाकार बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)सहित आठजना पक्राउ परेपछि वानएक्सबेट अहिले चर्चाको विषय बनेको छ ।

प्रहरीले पक्राउ गरेका आठैजना नेपालका चर्चित कलाकार तथा ‘सोसल इन्फ्लुयन्सर’ पर्छन् । श्रेष्ठसँगै पक्राउ पर्नेमा पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) छन् ।

वानएक्सबेटको विज्ञापन र प्रचार गरेको आरोपमा श्रेष्ठ पक्राउ परेको कुराले नेपालीका अधिकांश चर्चित युट्युब च्यानलका सञ्चालक तथा प्रयोगकर्ताहरुमाझ खैलाबैला मच्चिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालका सबैजसो युट्युब च्यानलका सञ्चालक आफ्ना हरेक भिडियोमा डिस्क्रिप्सनमा दिएको लिंकमा गएर ‘यो प्रोमो कोड प्रयोग गरी यति प्रतिशतसम्म बोनस पाउनुहोस्’ भन्दै अनलाइन जुवालाई प्रोत्साहन गरिरहेका हुन्छन् ।

अनलाइन जुवाका लागि युट्युबर किन प्रोत्साहन गर्छन् ?

नेपालमा सबैखाले जुवा र सट्टेबाजी प्रतिबन्धित विषयमा पर्छन् । यस्तो खेल खेल्न खेलाउन र प्रोत्साहन गर्न कानुनी रुपमा बन्देज लगाइएको छ । नेपाल सरकारले मंसिर १३ गते अनलाइन सट्टेबाजी गराउने सबैखाले एपलाई नेपालमा प्रतिबन्ध लगाएको थियो ।

वानएक्सबेट सन् २००७ मा स्थापना भएको अनलाइन जुवा खेलाउने कम्पनी हो । त्यसबेला यसले साइप्रसलाई आधार बनाएर कार्य सुरु गरेको थियो । त्यसयता यसले आफ्नो अनलाइन जुवाको धन्दालाई विश्वव्यापी बनाउँदै लगेको छ ।

युट्युबमा आउने भिडियोको आर्थिक स्रोत भ्युजको आधारमा युट्युबले दिने पैसा हो । यसबाहेक, च्यानल चर्चित रहे अन्य विभिन्न विज्ञापनबाट पैसा आउँछ । यही विज्ञापनमध्येकै एक विज्ञापनमा पर्छ वानएक्सबेटको प्रचार । अर्थात अनलाइन जुवा खेल्न प्रोत्साहित गर्ने गरेवापत ती युट्युब च्यानलका सञ्चालकले वानएक्सबेटबाट मोटो रकम पाउँछन् ।

कोही व्यक्ति कुनै युट्युबरले दिएको प्रोमो कोडको प्रयोग गरेर वानएक्सबेटमा साइन अप गरेर अनलाइन बेट लगाउँछ र त्यहाँ हार्छ भने उक्त युट्युबरलाई कम्पनीले २५ देखि ३० प्रतिशत कमिसन दिने रिपोर्टहरु बाहिरिएका छन् । जसकारण युट्युबरमाझ अनलाइन जुवालाई प्रोत्साहन गर्ने कुरा निकै चर्चित छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्