site stats
बाह्रखरी :: Baahrakhari
कला
क्यूएफएक्सले भन्यो– ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन गर्दैनौँ 

काठमाडौं । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । बुकिङ खुला गरिसकेको सिनेमा सुरक्षाको कारण देखाउँदै क्यूएफएक्सले रिलिज नगर्ने घोषणा गरेको हो ।  

“हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं,” क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ ।

 

‘आदिपुरुष’को त्रुटि नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिँदैनौँ : बालेन

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दावली नसच्याएसम्म काठमाडौं महानगरपालिकाले  महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएपछि क्यूएफएक्सले यस्तो निर्णय गरेको हो । 

कामपाका मेयर बालेन शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेका थिए । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको माग छ । 

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले लेखेका थिए, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।”
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्